धरान : चीनको हेनान प्रान्तमा दुई सय वटा गाडी आपसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
हेनान प्रान्तको चेङचोउस्थित एलो रिभर माथिको पुलमा उक्त दुर्घटना भएको हो । दुर्घटना स्थलको फोटो र भिडियो हेर्दा थुप्रै गाडीहरू एकै ठाउँ थुप्रिएका, एउटा गाडीमाथि अर्को गाडी चढेको र कच्याककुचुक परेको देखिन्छ । 
एक भिडियोमा एक व्यक्तिले दुर्घटना स्थलको दृश्य निकै डरलाग्दो भएको प्रतिक्रिया दिएका छन् । दुर्घटना हुने बेला बाक्लो, हुस्सु र कुहिरो लागेको थियो । कमजोर दृश्यकै कारण दुर्घटना भएको हुनसक्ने अनुमान छ ।
चिनियाँ समाचार च्यानल सिसिटिभीले दुर्घटनाबाट एक जनाको मृत्यु भएको जनाएको छ । दुर्घटना स्थलबाट गाडीहरू पन्छाएर यातायात सञ्चालन गर्न उद्धारकर्ताहरू सक्रिय भएको समाचारमा उल्लेख छ ।