धरान : महिला सञ्जाल धरानको पाँचौँ पदस्थापन तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।

गत असोज १६ गते सम्पन्न पाँचौँ अधिवेशनबाट महिला सञ्जाल धरानको अध्यक्षमा चेतना श्रेङ निर्वाचित भएकी थिइन । धरान क्षेत्रमा रहेका ३५ वटा महिला संघसंस्थाहरुको साझा सङ्गठनको रूपमा रहेको सञ्जालको अघिल्लो समितिमा श्रेङ वरिष्ठ उपाध्यक्ष रहेकी थिइन् ।

पदस्थापन कार्यक्रममा निवर्तमान समितिकी अध्यक्ष सविता राईले निर्वाचित श्रेङलाई आफ्नो पद हस्तान्तरण गरेकी थिइन् । अन्यलाई अबिर र माला लगाएर शुभकामना दिइन् ।

२०६६ सालमा स्थापना भएको सञ्जालमा धरान क्षेत्रमा रहेका ३५ वटा महिला संघसंस्थाहरुको साझा संगठनकोरुपमा रहेको बताउँदै आजका दिनसम्म आउन थुप्रो चुनौतीहरूको सामना गरेको सञ्जालकी पूर्व सचिव कोपिला भट्टराईले बताइन् ।

निवर्तमान सञ्जालकी अध्यक्ष राईले सामान्य घर झैँ-झगडा हैन्, कहीँ कतै नउठेका मुद्दा उठाएर सञ्जालले धेरै सहयोगका कार्य गरेको बताइन् । उनले सञ्जालले असल नेतृत्व गरी राजनीति भन्दा धेरै माथि उठेर पुरुषहरूका हक अधिकार र महिला अधिकारको मध्यस्थकर्ता हुँदै कार्य गरेको बताइन् ।

संजाललको नेतृत्व विभिन्न तहमा पुगेको बताउँदै आगामी दिनमा क्षमता विकासका कार्य गरिनु पर्ने राईको भनाई छ । कार्यक्रममा सञ्जालले गरेको विभिन्न कार्यक्रमहरू  भिडियो क्लिपद्वारा देखाइएको थियो ।

वक्तृत्वकला प्रतियोगिताका विजेतालाई  पुरस्कार वितरण

अन्तर्राष्ट्रिय महिला दिवस ८ मार्चको अवसरमा महिला सञ्जाल धरानले गत २०७६ फागुन १८ गते उच्च मावि स्तरीय वक्तृत्वकला प्रतियोगिताका विजेतालाई प्रमाण पत्र र पुरस्कार पनि वितरण गरिएको थियो ।

वक्तृत्वकलामा प्रथम स्वस्तिका धमलालाई ५ हजार, दोश्रो तृष्णा विकलाई ३ हजार तृतीय पुष्पा कटुवाललाई २ हजार र सान्त्वना मेनुका दर्जीलाई १ हजार र प्रमाण पत्र प्रदान गरिएको थियो ।

महिला सञ्जाल धरानलाई सहयोग र योगदान पुर्याउदै आएका प्रा.डा.राजेन्द्र शर्मा, सञ्जालकी संस्थापक गङ्गा बराल, महिला अधिकारकर्मी मिना पुलामी मगर र पूर्वअध्यक्ष शिला बज्राचार्यलाई सम्मान पनि गरिएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि मेयर तिलक राईले सबै पदाधिकारीहरूलाई सफल कार्यकालको शुभकामना दिएका छन् । एकल महिलालाई सेभ हाउस बनाएर राख्ने, सिलाइ बुनाइ तालिम प्रशिक्षण गराउने र सञ्जाललाई राम्रो बनाउन पुनः छलफल गरेर सबै महिलाको केन्द्र बिन्दु न्याय निरूपण गर्ने संस्था बनाउन सञ्जाललाई अनुरोध गरे ।

उनले भौतिक संरचनामा धेरै खर्च नगर्न अनुरोध गर्दै भएका भवनहरूमा प्रयोग गर्न आग्रह गरे । कार्यक्रमका विशिष्ट अतिथि डिएसपी ज्ञानेन्द्र बहादुर बस्नेतले धरानमा महिला बालबालिका र ज्येष्ठ नागरिकका समस्यालाई इलाका प्रहरी कार्यालय धरानले पहिलो प्राथमिकतामा राखेर कार्य गरेको बताए ।

धरानमा सार्वजनिक तथा सवारी साधनमा महिलाहरूलाई गरिने दुर्व्यवहार सम्बन्धी जनचेतना मूलक कार्य गर्दै आएको समेत उनले जानकारी दिए ।