वराहक्षेत्र : वराहक्षेत्र नगरपालिकाले नगरभित्र रहेका उत्कृष्ट सामुदायिक विद्यालयलाई पुरस्कृत गरेको छ । नगरपालिकाले शिक्षा युवा तथा खेलकुद विकास शाखा मार्फत कार्यसम्पादनका आधारमा माध्यमिक तह, आधारभूत तह कक्षा ८ सम्म तथा आधारभूत तह कक्षा ५ सम्मलाई सम्मान र पुरस्कृत गरिएको हो ।
सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरीय बनाउन नियमित, अनुगमन, निरीक्षण र छड्के चेक गरिरहेको नगरपालिकाले विद्यार्थीको शिक्षण सिकाई क्रियाकलाप, शिक्षकहरूको जानकारी, हाजिर पुस्तिकाको निरीक्षण, गतिविधि, अतिरिक्त क्रियाकलाप, वातावरण लगाएको आधारमा विद्यालयलाई छनौट गरेर पुरस्कृत गरिएको शिक्षा युवा तथा खेलकुद विकास शाखाका अधिकृत उत्तम भारतीले जानकारी दिए ।
समस्याको समाधान र अनुगमन निरन्तर गर्ने योजना अनुसार विद्यालयको अनुगमन नगर प्रमुख कार्की सक्रिय भएर लागेका थिए । सामुदायिक विद्यालयको शैक्षिक गतिविधिलाई गुणस्तरीय बनाउने अभियान नगरपालिका लागेर र उत्कृष्ट विद्यालयलाई पुरस्कृत गरेर प्रोत्साहन गरिएको नगर प्रमुख रमेश कार्कीले बताए ।
आइतबार नगरपालिकामा आयोजना नगरपालिका र सामुदायिक विद्यालयहरूका प्रधानाध्यापक बिच भएको अन्तरक्रिया कार्यक्रममा उत्कृष्ट बिद्यालयहरुलाई प्रशंसा पत्रले सम्मान र नगर पुरस्कारले पुरस्कृत गरिएको थियो । माध्यमिक तर्फ वराहक्षेत्र ५ को जगन्नाथ डेडराज जनता माध्यमिक विद्यालय प्रथम पुरस्कारले पुरस्कृत भएको थियो । उसले नगद २० हजार प्राप्त गर्‍यो । 
त्यस्तै वराहक्षेत्र-२ को आदर्श माध्यमिक विद्यालय दोस्रो र वराहक्षेत्र १० को प्रकाश माध्यमिक विद्यालय र वराहक्षेत्र ८ को कोसी माध्यमिक विद्यालय तेस्रो भएको घोषणा गरिएको थियो । उनीहरूले नगद १८ हजार र १६/१६ हजार प्राप्त गरेका थिए ।
त्यस्तै आधारभूततर्फ वराहक्षेत्र-२ को जलदेवी आधारभूत प्रथम, वराहक्षेत्र-८ को शिशु ज्योति आधारभूत विद्यालय दोस्रो, वराहक्षेत्र-१० को भगवती आधारभूत विद्यालय तेस्रो भएको घोषणा गरिएको थियो । उनीहरूले क्रमशः २० हजार, १८ हजार र १६ हजार प्राप्त गरे । 
त्यस्तै आधारभूत ५ तर्फ वराहक्षेत्र-१० को रामनक्षदीपाल आधारभूत विद्यालय प्रथम, वराहक्षेत्र-९ को ज्ञान ज्योति आधारभूत विद्यालय दोस्रो र वराहक्षेत्र-१ को पञ्चकन्या आधारभूत विद्यालय तेस्रो भएको घोषणा गरिएको थियो । उनीहरूले नगर क्रमशः २० हजार, १८ हजार र १६ हजार प्राप्त गरेको शिक्षा युवा तथा खेलकुद विकास शाखाका प्रमुख उपसचिव देवेन्द्र बहादुर मल्लले बताए ।
वराहक्षेत्र नगरपालिका ५२ वटा सामुदायिक, ५ वटा धार्मिक विद्यालय गरेर ५७ वटा सामुदायिक विद्यालय रहेका छन् भने ३२ वटा संस्थागत विद्यालयहरू रहेका छन् ।