किस्ता सम्झिएर रातभर सुत्न सकिँदैन
इटहरी : सोमबार जनयुद्ध दिवसको छुट्टी मनाइरहँदा इटहरीमा भने नयाँ आन्दोलन चर्की रह्यो । ११ बजे देखी ३ बजेसम्म इटहरी चोकमा लघुवित्त पीडितले आफ्नो वेदना सुनाए । पीडितको आवाजमा उत्पीडनमा परेका जनताको उत्थानको लागि सुरु भएको जनयुद्धले जनताको मुद्दामा काम नगरेको प्रष्ट देखिन्थ्यो । गरिब र उत्पीडित समुदायका महिलाहरू नै आन्दोलनको अग्रमोर्चामा देखिन्थे । 
लघुवित्त संस्था खारेज गर, महिला मार्न पाइँदैन लघुवित्त संस्था चाहिँदैन, किस्ता बहिस्कार गरौँ, समुहिक ऋण मिनाहा गर जस्ता नारा लगाएर पीडितहरूले आवाज उठाए । जीवित व्यक्तिको मृत्यु दर्ता गरेर सम्पत्ति हडप्न खोजेको उनीहरूको आरोप छ । लघुवित्तले अनावश्यक रूपमा दुःख दिएको भन्दै उदयपुर, सुनसरी र मोरङका महिलाहरूले इटहरीबाट आन्दोलन सुरु गरेका हुन् । 
सुरुमा संस्थामा बस्दिन भन्दा पनि ५ जनाको समूह बनाएपछि धेरै फाइदा हुने भन्दै लोभ्याउने गरेको उनीहरूले बताए। अस्पतालमा पुगेपछि उपचार खर्च दिन्छौ भन्ने तर पछि सहयोग माग्न जाँदा ऋण खान बाध्य बनाउने पीडितको गुनासो छ।
सोमबार जनयुद्ध दिवसको अवसरमा बिदा भएकै दिन नयाँ युद्ध सुरु भएको पीडितहरू बताउँछन् । उदयपुरबाट इटहरी पुगेकी रमा राईले लघुवित्तले ज्यादती गरेको बताइन् । लामो समय देखी घरमा आएर सम्पत्ति हडप्ने र जेल चलान गर्ने धम्की दिने गरेको उनले सुनाइन् । ‘किस्ताको दिन आएपछि रातभर निन्द्रा लाग्दैन । कसलाई सुनाउनु । श्रीमान्को कमाइ छैन । एक दिन ढिला भयो भने गाउँमा गाली व्यजती गर्न आउँछन् । कसरी धान्न सकिन्छ ?,’ उनले भनिन् ।  
उदयपुरकै अर्की महिलाले मञ्चबाटै आक्रोश पोखिन् । ‘मुटु कलेजोको निकालेर भए पनि दिनुपर्छ भनेर धम्की दिँदै आउँछन् । मर्न मन लागे विष किन्दिन्छौ तर किस्ता छुट्नु हुँदैन भन्छन् । डोरी किन्ने पैसा दिन्छौ झुन्डिएर मर्नु भन्छन् । किड्नी बेचेर भए पनि व्याज र किस्ता तिर्नुपर्ने भन्दै धम्की सहेर कहिलेसम्म बस्न सकिन्छ ? उनले भनिन्, ‘हामीले राखेको १५ वर्षको बचत फिर्ता ल्याउन नपाउने कसरी भयो । बुढेसकालमा काम गर्छ भन्दै बचत गर्न लगाए । अहिले निकाल्छौ भन्दा नपाउने ? ३ लाख बचत हुँदा २० हजार माग्दा समेत दिन दिँदैनन् । खुट्टा ढोगे पनि दिँदैनौ भनेपछि कहाँ जानु ?’ 
अम्बिका गजमेरको पनि समस्या उस्तै छ । सुरुमा ललाइफकाइ ऋण खानुभन्दै आउने तर पछि सुन चाँदी बेचेर भए पनि ऋण तिर्नुपर्छ भन्दै धम्की दिने गरेको उनले सुनाइन् । ‘श्रीमान् सँग माग्दा छाला काटेर लैजा भन्छन् । छोरो बेरोजगार छ । कसलाई भन्नु ? छिमेकमा ऋण माग्ने ठाउँ सकिसक्यो । बाच्नु न मर्नु बनायो लघुवित्तले,’ उनले दुखेसो पोखिन् । 
लघुवित्त संस्थाले ज्यादती गरेको भन्दै इटहरी चोक परिक्रम गरेर पीडितहरूले आन्दोलन गरेका छन् । उदयपुरमा आन्दोलन गर्दा सरकारले नदेख्ने भएपछि इटहरी आएको उनीहरूले बताए । पीडित मध्येकी एक महिलाले भनिन्, ‘घरमा श्रीमान् श्रीमती वा छोराछोरीको मृत्यु भए पनि किस्ता ढिलो भयो भने घर घेरेर व्यजती गर्न आउँछन् । सुरुमै १० प्रतिशत कटाएर ऋण दिन्छ । पछि त्यसको सावाँ र व्याज पनि तिर्नुपर्छ । ऋण सम्झौता पढ्न नपाई औँठा छापा गर्न लगाउँछ।’ 
हामीलाई बचत फिर्ता माग्दा समेत हप्काएर पठाउने गरेको उनीहरूको गुनासो छ। जीवन विकाश, सपोर्ट, सहारा नेपाल लगायत संस्थाले महिलाहरू पीडित भएका छन् ।
laghubitta-andalon-2laghubitta-andalon-3