•  रश्मि प्रधान 

धरान : भानुचौक वडा २ मा सिटी सफारीको व्यवस्थापनलाई लिएर वडाध्यक्ष, ट्राफिक र नगर प्रहरी सँग विवाद भएपछि ट्राफिक प्रहरीले गर्ने दुर्व्यवहार र उनीहरूले भोग्नु परेको कठिनाइप्रति स्थानिय सरकारलाई ध्यानाकर्षण गराउन आज भानुचौक देखी धरान उपमहानगरपालिका सम्म सिटी सफारी र्‍याली प्रदर्शन गरिएको छ। विरोध र्‍याली अखिल नेपाल यातायात मजदुर सङ्घको आयोजनामा भएको हो ।

सैयौंको सङ्ख्यामा सिटी सफारी सहभागी रहेको र्‍यालीको नेतृत्व नेपाल यातायात मजदुर सघ केन्द्रीय उपाध्यक्ष लीला प्रधानले गरेका थिए । र्‍यालीमा 'मजदुर मार्न पाइँदैन, उपमहानगरपालिकाले रोजीरोटीको ग्यारेन्टी गर, ट्राफिक प्रहरी दमन बन्द गर' भन्ने नाराबाजी गरिएको थियो । उपमहानगरपालिकाको घेराउ गर्दै उनीहरूले मेयर लुकेर हुँदैन उपस्थित हुनु पर्‍यो भन्दै कार्यालय गेट अगाडि नाराबाजी गरेका  थिए ।

मजदुर सङ्घका केन्द्रीय उपाध्यक्ष प्रधानका अनुसार धरानमा आठ वर्ष अघि देखि सञ्चालनमा आइरहेका विद्युतीय सवारी सिटी सफारी र टेम्पोहरुको अहिले सम्म उचित व्यवस्थापन हुन नसक्दा सफारी ट्याम्पो मजदुरहरूले कठिनाइ भोग्नु परेको छ । उनीहरूलाई प्रहरी र ट्राफिक प्रहरीले गर्ने दुर्व्यवहार अमानवीय बन्दै गएकोमा आक्रोश व्यक्त गरे । 

आज बुधवार वडा २ का अध्यक्ष रमेश राई, नगर प्रहरी, ट्राफिक प्रहरीहरूले दलबलका साथ मजदुरहरूको रोजीरोटी हरण गर्ने गरी हाल सिटी सफारीहरूले स्टाण्ड लगाएको ठाउँबाट हटाउन बल प्रयोग गरेपछि सबै सफारीहरू र्‍यालीको रूपमा उपमहानगरपालिका घेराउ गर्न पुगेका हुन् ।

मजदुरहरूले उनीहरूलाई लखेटी मजदुरहरूलाई मारमा पारेर बजार व्यवस्थापनको नाममा कमाऊ अभियान चलाउने देखिएको आरोप लगाएका छन् । हालको सफारी स्टाण्ड उत्तर साइडमा ठेलामा लत्ताकपडा होटेल राखिएको, बसपार्कमा व्यापार सञ्चालन गर्न दिएको तर सिटी सफारी चालकलाई हप्काउँदै दुर्व्यवहार गरी हटाउन खोजिएको उनीहरूले बताए ।

मजदुरहरूले हालको स्टाण्डबाट सफारी, ट्याम्पो हटाउने हो भने ठेला लगायत लत्ताकपडा पनि तुरुन्त हटाइयोस् भन्ने माग गरेका छन् । उनीहरूले उक्त स्थानमा कम्तीमा १५ वटा सफारीले यात्रु ओसार पोसार गर्न पाउनु पर्ने माग गर्दै उपमहानगरपालिकामा ध्यानाकर्षण पत्र बुझाएका छन् । अखिल नेपाल यातायात मजदुर सघ विद्युतीय ई रिक्सा इकाई मजदुर सङ्घ धरान अध्यक्ष सुवास बराइली र सचिव आशिष् मगरको हस्ताक्षरमा ध्यानाकर्षण पत्र बुझाइएको हो ।

उपमहानगरपालिकामा मेयर र उपमेयर दुवै उपस्थित नभएकाले ध्यानाकर्षण पत्र सामान्य प्रशासन महाशाखा अधिकृत वेदप्रसाद सापकोटा मार्फत मेयर हर्क साम्पाङलाई बुझाइएको बताइएको छ । ध्यानाकर्षण पत्र बुझाउन मजदुरहरूको टोली जाँदा मेयर साम्पाङ पानीको खोजीमा भएको र उपप्रमुख आइन्द्रविक्रम बेघा र महाशाखा प्रमुखहरू संयुक्त राष्ट्र सङ्घको कार्यक्रममा गएको बताइएको थियो ।

अधिकृत सापकोटाले ध्यानाकर्षण पत्र मेयर समक्ष पुर्याउने वचन दिएको यातायात मजदुर सघ केन्द्रीय उपाध्यक्ष लीला प्रधानले बताए । मजदुरहरूको माग पूरा नभए कडा भन्दा कडा आन्दोलनमा जाने जानकारी गराउँदै उक्त आन्दोलनले उत्पन्न हुने परिस्थिति स्थानिय सरकार तथा सरोकारवाला निकाय जबाफदेही हुने चेतावनी दिइएको छ ।

Tampo-GAyapan-Patra-orginal