• रश्मि प्रधान
धरान : धरानमा हिजो देखी लागु गरिएको एकतर्फी ट्राफिक नियमले ट्याम्पो र सफारी चालकहरूको रोजीरोटीमा प्रत्यक्ष असर पारेको भन्दै आज बुधवार सयौँको सङ्ख्यामा चालकहरूले सवारी साधन सहित धरान उपमहानगरपालिका घेराउ गरे । 
ट्याम्पो सिटी सफारी चालक सङ्घर्ष समितिले 'वान वे'को विरोध गर्दै मेयर हर्क साम्पाङलाई ज्ञापन पत्र बुझाएका छन् । ज्ञापन पत्रमा एकतर्फी नियमले मजदुरलाई असर परेको, टेम्पु र सफारी चालकहरूको  रोजीरोटी खेसेको, गरिब मजदुरको पेट भोकै राख्न खोजेको भन्दै खेद प्रकट गरेका छन् ।
चालकहरूले 'वान वे'को विरोधमा धरान-१५ भलिबल ग्राउन्डमा भेला भई भानुचोक हुँदै उपमहानगरपालिका कार्यालय चतरा लाइनमा सावरी साधन राखेर घेराउ गरे । टेम्पु तथा सफारी चालक सङ्घर्ष समितिका अध्यक्ष दल प्रकाश लावतीले ट्याम्पो सफारी र्‍यालीको अगुवाइ गरेका थिए ।
स्थानिय लक्ष्मी चोक देखी भानुचौक सम्म छुट्टा छुट्टै सडकबाट एकतर्फी गरिएकोले बिच बाटोबाट युटर्न गर्न नपाउँदा ट्याम्पो, सफारीहरूलाई मर्का परेको हो । बिच बाटोबाट फर्किन वा घुम्न परे बजार बिचका सम्पर्क सडक गल्लीहरूको विकल्प स्पष्ट नहुँदा पनि स्कुटर, बाइक जस्ता साना सवारीहरूलाई पनि  कठिनाइ परेको छ। 
उपमहानगरपालिकाले एकतर्फी नियम लागु गर्दा बिचैबाट फर्केर अर्को बाटो निस्कने विकल्पको रुट खुलाएर सार्वजनिक जानकारी गराएको छैन । ट्याम्पो, सफारीमा छोटो रुटका यात्रु चढ्दा वान वेले लामो फन्को मार्नु पर्दा यात्रु घटेर उनीहरूलाई मर्का परेको हो । 
यस्तो मर्का सबै भन्दा बढी तोकिएका ट्याम्पो, सफारी स्टाण्डमा सवारी राख्न नपाउने चालकहरूलाई परेको छ । मुख्य स्टाण्ड भानुचौक बसपार्क र अन्य स्टाण्डमा सिन्डिकेटका सदस्यहरू मात्र बस्न पाउँछन् । सिन्डिकेटको सदस्य बन्न दसौँ हजार रुपया बुझाउनु पर्ने भएकाले धेरै ट्याम्पो सफारी स्टाण्ड विहीन छन् ।
धरानमा यस्ता सिन्डिकेटमा नरहेका ट्याम्पो सफारीको सङ्ख्या १ हजार ४ सयभन्दा बढी रहेको सङ्घर्ष समितिले जनाएको छ । एक देखी डेढ सयको सङ्ख्यामा मात्र रहेका सिन्डिकेटका ट्याम्पो, सफारीले स्टाण्डहरु एकलौटी बनाएकाले बहुसङ्ख्यक स्टाण्ड विहीन सफारी टेम्पोहरुलाई 'वान वे'ले मर्कामा परेको हो ।   
मेयर साम्पाङलाई ज्ञापन पत्र बुझाउँदै सङ्घर्ष समितिले भानुचोकमा एकल सिन्डिकेट रहेकोले सम्पूर्ण सफारी, टेम्पुले त्यहाँ स्टाण्ड पाउनु पर्ने माग गरेको छ । उनीहरूले छोटो बाटोका यात्रु चढ्ने भएकाले सडकको बिचमा यात्रु चढाउन पाउनु पर्ने माग पनि राखेका छन् । माग सम्बोधन नभए आन्दोलनको तयारी गर्ने ज्ञापन पत्रमा उल्लेख छ । 
मेयर हर्क साम्पाङले ज्ञापन पत्र बुझाउन गएका टोलीलाई कानुन भन्दा माथि केही पनि नहुने, वान वे पालना गर्न उनीहरूलाई आग्रह गरे । स्टाण्डको समस्या तत्काल हल गर्ने वचन दिँदै वान वे लाई कार्यान्वयन नगरे कानुन बमोजिम कारबाही भोग्नु पर्ने चेतावनी मेयर साम्पाङ दिए । 
इलाका प्रहरी कार्यालय धरानका डिएसपी नवराज मल्लले सफारी चालकहरूले यात्रु घिसार्ने तान्ने जस्ता काम गरेका कारण यात्रु असुरक्षित भएको बताउँदै चालकहरूले सवारी चालक अनुमत पत्र बिना सफारी चलाएका कारण सडक दुर्घटना बढेको स्मरण गराए । उनले भने ‘व्यक्तिगत र संस्थागत स्वार्थ पूरा गर्न राज्य तथा स्थानिय सरकारले लागू गरेको वान वे  नियम लागु हुन्छ ।’ चालकहरूको असुविधाको व्यवस्थापन नगर प्रमुख, ट्राफिक र प्रहरीको समन्वयमा सम्बोधन गरिने उनको भनाई छ । प्रहरीबाट कमी कमजोरी भएको छ भने इलाका प्रहरीमा खबर गर्न आग्रह गर्दै नियम सबैलाई बराबरी हुने डिएसपी मल्लले बताएका छन् ।
safari-andalon-dharan-nagar