वराहक्षेत्र : वराहक्षेत्र नगरपालिकाको व्यापारिक केन्द्रको रूपमा रहेको बाङ्गेबजार र नडाहा चौकका रहेको पसलहरूको नगरपालिकाले अनुगमन गरेको छ। अत्यावश्यक खाद्यवस्तुको मूल्य वृद्धि र म्याद नाघेका बस्तु बिक्री वितरण भइरहेको गुनासो उपभोक्ताबाट आएसँगै वराहक्षेत्र नगरपालिकाकी उपप्रमुख नन्दकुमारी सुनुवार नेतृत्वको अनुगमन टोलीले आइतबार बाङ्गे बजार र नडाहा चौक क्षेत्रका पसलहरूको अनुगमन गरेको थियो।
अनुगमनको क्रममा उपभोग्य मिति नाघेका खाद्यवस्तु टोलीले नियन्त्रणमा लिएर नष्ट गरिएको थियो । म्याद नाघेका बस्तु बिक्री वितरण गर्न राखिएको पसलहरूलाई जरिवाना समेत गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋद्धि प्रकाश सिटौलाले बताए ।
अनुगमनका क्रममा बाङ्गेमा रहेको साह किराना पसलमा म्याद नाघेका सामाग्री र अनुमति लिए भन्दा फरक सामाग्री भेटिए पछि १० हजार जरिवाना गरिएको थियो । अनुगमनका क्रममा बाङ्गे बजार र नडाहामा रहेका पसलहरूबाट लाखैँ मूल्य बराबरका म्याद नाघेका सामग्रीहरूको नष्ट समेत गरिएको थियो ।
बजारमा म्याद नाघेका सामाग्री, कालोबजारी र खाद्य सामग्रीको मूल्यवृद्धि नियन्त्रण गर्न बजार अनुगमन गरिएको बजार अनुगमन समितिकी संयोजक समेत रहेकी उपप्रमुख सुनुवारले बताइन्।
टोलीले अनुगमनका क्रममा बिल विजक चुस्त दुरुस्त नराखेको, मुल्यसूची नराखेको, राखेको भए पनि त्यसलाई दैनिक रूपमा व्यवस्थापन नगरेको, पसलमा उपभोग्य मिति सकिएका खाद्यवस्तु फेला पारेको थियो।
साथै विद्युतीय तराजुको आवश्यक कागजात नराखेको फेला परेपछि तत्काल सबै प्रक्रिया पुर्‍याएर आवश्यक कागजात राखी दर्ता गर्न व्यवसायीहरूलाई सुझाव दिइएको नगरपालिकाको आर्थिक विकास शाखाका प्रमुख मातृका तिवारीले बताएका छन् ।
बजारमा मूल्य बुद्धि, म्याद नाघेका सामाग्री र कालोबजारीलाई नियन्त्रण गर्न नगरपालिकाले बजार अनुगमन सुरु गरेको हो । कालाबञ्जर बजार क्षेत्रमा रहेका खाद्यान्न पसल, औषधी पसल, मेडिकल हल, मासु पसल, गैर खाद्यान्न सामाग्री, किराना पसल लगायत अनुगमन गरिएको थियो ।
अनुगमनमा उपभोग्य मिति समाप्त भएको सामाग्री फेला समेत पारेको थियो । टोलीले खुद्रा व्यवसायीहरूलाई होलसेल व्यवसायीले जारी गरेको बिल विजक सुरक्षित राख्न र माग गरेका बेला उपलब्ध गराउन भनेको छ। 
नगर उपप्रमुख सुनुवार नेतृत्वको अनुगमन टोलीमा, प्रमुख प्रशासकीय अधिकृत ऋद्धि प्रकाश सिटौला, नगरपालिकाको आर्थिक विकास शाखाका प्रमुख मातृका तिवारी, स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक उमेश मेहता, उद्योग वाणिज्य सङ्घका प्रतिनिधि, खाद्य तथा गुण नियन्त्रण सुनसरीका कर्मचारी, उपभोक्ता मञ्चका प्रतिनिधि, पत्रकार लगाएको सहभागी रहेका थिए।