धरान : कोशी प्रदेश नामाङ्कन खारेजी, पुनः नामकरणको आन्दोलनमा घाइते भई निधन भएका पदम लिम्बु लाजेहाङलाई शहिद घोषणा गर्न माग गर्दै धरान भानुचौकमा आज साँझ आयोजित विरोध सभामा सहभागीहरू कोशी नामकरणमा मतदान गर्ने प्रदेश सभा सदस्यहरूप्रति बढी आक्रोश देखिए ।
किरात याक्थुङ चुम्लुङका राष्ट्रिय चुम्लुङ सदस्य ताजुब लिम्बुले भने ‘कोशी प्रदेशमा मतदान गर्ने प्रदेश सभा सांसदहरू होसियार रहनु होला ।’ कोशी प्रदेश नाम खारेजी र पुनः नामाङ्कनको आन्दोलनमा आन्दोलनकारीहरू कोशी प्रदेशको पक्षमा मतदान गर्ने सांसदहरूप्रति बढी आक्रोशित भएको उनले बताए ।
किरात राई यायोख्खा प्रदेश १ का उपाध्यक्ष बलराम राईले भने ‘कोशी प्रदेशमा मतदान गर्ने प्रदेश सभा सदस्यहरूले तत्काल आफ्नो मत फिर्ता लिएको घोषणा गर्दै वक्तव्य निकाल्नु पर्‍यो ।’ अन्यथा आन्दोलनकारीसँग सामना गर्नुपर्ने अवस्था आउने बताउँदै उनले आन्दोलनले जुनसुकै हालतमा कोशी प्रदेश खारेज गराएरै छाड्ने उद्घोष गरे ।
माओवादी निकट किरात राष्ट्रिय मोर्चा केन्द्रीय उपाध्यक्ष अशोक राईले आन्दोलनले ‘अब पाटी भन्दा माटी माथि र माटी भन्दा जाति माथि’ मान्ने परिस्थितिको सिर्जना गर्ने बताउँदै भने ‘अब जुनसुकै पार्टीको सांसद, नेता भए पनि पहिचानको पक्षमा लाग्नुको विकल्प छैन।’
सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका केन्द्रीय वरिष्ठ उपाध्यक्ष ज्ञानबहादुर गुरुङले पहिचानको आन्दोलनमा शहादत प्राप्त गरेको लाजेहाङ पदम लिम्बुलाई राज्यले शहिद घोषणा र कोशी नाम खारेज गरी पुनः नामकरणको मागलाई सम्बोधन नगरे सम्म आन्दोलन नरोकिने बताए ।
सभा सञ्चालन गरिरहेका लिम्बु विद्यार्थी मञ्चका केन्द्रीय उपमहासचिव प्रदीप नेयङहाङ लिम्बुले पहिचानको आन्दोलनकारीहरूलाई राज्यले घाइते बाघ बनाएको ‘घाइते बाघले के गर्छ ?’ भनी प्रश्न गर्दै ‘बयासी जना सांसद काटिन्छ, काटिन्छ’ भनी सहभागीहरूलाई नाराबाजी गर्न लगाए ।
सभामा सलोराम सुनसरी सचिव निर्मल राईले सहिद लाजेहाङको सपना पूरा गर्ने प्रतिबद्धता जाहेर गरे ।