सन् २०२३ तीन महिनामा नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकको सङ्ख्यामा विगतको वर्षमा भन्दा ७८ प्रतिशतले सुधार आएको छ । जुन कुरोलाई हामीले सकारात्मक ढङ्गले लिनुपर्ने हुन्छ । साथै यो तथ्याङ्कले अब नेपालको पर्यटन क्षेत्र सुध्रिएको हो त ? भन्ने प्रश्न पनि उठाएको छ ।
हो, निश्चय नै माथिको तथ्याङ्क हेर्दा नेपाली पर्यटन क्षेत्र राम्रोसँग सुध्रिएको मान्नुपर्ने हुन्छ । तर के यही गतिमा नेपालमा विदेशी पर्यटकको आगमन दर कायम रहन्छ त ? यो कुरो चाहिँ भविष्यले नै बताउने छ । किनभने हाल आएर नेपालको तीनतिर सीमा रहेको छिमेकी देश भारतमा कोरोना बढीरहेको छ । त्यसको असर नेपालमा पनि पर्न थालेको छ । त्यसैले हाल फैलिरहेको कोरोनाको असर कुन स्तरमा पुग्ने हो ? निश्चय नै यही स्तरमा बढ्ने छ भनी हचुवाको भरमा भन्न सक्ने कुरो भएन ।   
त्यसो त हामीले सन् २०२३ मा नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको सङ्ख्या बढाउने भन्ने सम्बन्धमा र उनीहरूको नेपाल बसाई अवधि अनि विदेशी पर्यटकहरू नेपाल बसाईको क्रममा उनीहरूले गर्ने दैनिक खर्चको सीमालाई पनि कसरी बढाउन सकिन्छ ? भन्ने ध्यान दिनुपर्ने देखिन्छ ।
स्मरणीय छ, सन् २०१९ मा (झन्डै १२ लाख) ११ लाख ९७ हजार १९१ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका भए तापनि उनीहरूको नेपाल बसाई अवधि अनि उनीहरूले गर्ने दैनिक खर्चको सीमामा भने खासै प्रगति भएको थिएन ।
जस्तो कि सन् २०१९ मा नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकले प्रति व्यक्ति दैनिक ४८ अमेरिकी डलर मात्रै खर्च गरेका थिए भने प्रति दिन बसाई अवधि १२ दशमलव सात दिन रहेको थियो । त्यस्तै गरेर सन् २०२० मा दुई लाख ३० हजार ८५ जना विदेशी पर्यटक नेपाल भ्रमणमा आएका थिए भने, सन् २०२१ मा केवल एक लाख ३१ हजार विदेशी पर्यटक नेपाल भ्रमणमा आए । सन् २०२२ मा चाहिँ छ लाख १४ हजार १४८ जना विदेशी पर्यटकहरूले नेपाल भ्रमण गरे ।
लेखमा पछिल्लो १० वर्षमा नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकहरूको सङ्ख्या कति थियो ? भन्ने सम्बन्धमा केही लेख्ने प्रयास गरिएको छ । त्यसरी तथ्याङ्क हेर्दा सन् २०१३ मा सात लाख ९७ हजार ६१६ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । त्यस्तै सन् २०१४ मा सात लाख ९० हजार ११८ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेको तथ्याङ्क रहेको छ भने सन् २०१५ मा पाँच लाख ३८ हजार ९७० जना विदेशी पर्यटकले मात्रै नेपाल भ्रमण गरेको देखिन्छ 
सन् २०१६ मा सात लाख ५३ हजार दुई जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेको तथ्याङ्क रहेको छ । त्यस्तै गरेर सन् २०१७ मा नौ लाख ४० हजार २१८ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । उता सन् २०१८ मा आएर चाहिँ नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको सङ्ख्या ११ लाख ७३ हजार ७२ जना पुगेको थियो भने सन् २०१९ मा ११ लाख ९७ हजार १९१ जना विदेशी पर्यटक नेपाल भ्रमण गरेको तथ्याङ्क रहेको छ । स्मरणीय छ, हालसम्म नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकको सबैभन्दा धेरै सङ्ख्या हो । हुन पनि सो सङ्ख्या बिस्तारै बढ्दै जानुपर्नेमा उल्टै सन् २०२०, सन् २०२१ र सन् २०२२ मा ८१ प्रतिशत, ७० प्रतिशत र ५३ प्रतिशत हाराहारीमा घट्यो । जस्तै सन् २०२० मा दुई लाख ३० हजार ८५ जना, सन् २०२१ मा एक लाख ५० हजार ९६२ जना विदेशी पर्यटक नेपाल भ्रमणमा आएको देखिन्छ । 
त्यसो त विश्वमा पर्यटन व्यवसाय संस्थागत रूपमा सुरु गर्ने काम बेलायतका नागरिक थोमस कुकले गरेको मानिन्छ । उनले सन् १८४१ मा आफनै देश बेलायतका पाँच सय जना नागरिकलाई पर्यटकको रूपमा रेलमार्फत बेलायतको ‘लेईस्टर वा लेईस्चर’देखि ‘लोउफब्रो वा लोउफबोरो’सम्म भ्रमण गराएका थिए । यसरी थोमस कुकले सङ्गठित रूपमा भ्रमण व्यवसाय अर्थात् ‘ट्राभल बिजनेस’को सुरुवात गरेको लगभग एक सय ८२ वर्ष  पुग्दै गर्दा विश्व पर्यटनमा धेरै नै उथलपुथल आएको छ ।
विश्व विभिन्न देशका खरबौँ मानिसहरू पर्यटक भई घुम्न निक्लेका छन् । त्यसरी पर्यटक भई विश्वका विभिन्न देश घुम्न निक्लेका पर्यटकहरूले हजारौँ–हजार खर्ब (अमेरिकी डलरमा) खर्च गरिसकेका छन् । त्यसको केही हिस्सामा नेपालले पनि हिस्सेदारी हुन पाएको छ । किनकि हालसम्म विश्वका सयौँ देशका केही करोड मानिसहरू नेपाल भ्रमण गर्न आएका छन् । यसरी विश्व पर्यटनको इतिहासमा थोमस कुकलाई ‘ट्राभल बिजनेस’को सुरुवातकर्ता र पर्यटनको पिता अर्थात् ‘गड फादर’ मान्ने गरिन्छ । 
समग्रमा हेर्दा विसं २०६२/०६३ को तेस्रो जनआन्दोलनको राजनैतिक परिवर्तनपछि नेपाल भ्रमण गर्न आउने विदेशी पर्यटकको सङ्ख्या लगातार बढी रहेको थियो । सन् २०१५, सन् २०२०, २०२१ र २०२२ मा बाहेक । त्यसो भए तापनि नेपाल आउने पर्यटकले गर्ने प्रति व्यक्ति, प्रति दिन, दैनिक खर्च र प्रति दिन, प्रति व्यक्ति नेपाल बसाई अवधिमा चाहिँ सुधार हुन सकेको छैन । त्यसैले हामीले आगामी दिनमा विदेशी पर्यटकले नेपाल आएर गर्ने प्रति दिन, प्रति व्यक्ति दैनिक खर्च र उनीहरूको नेपाल बसाई अवधि पनि क्रमशः बढ्दै लानेतर्फ पनि ध्यान दिनुपर्ने देखिन्छ ।
तथापि सन् २०२० मा चाहिँ नेपालमा विदेशी पर्यटकले गर्ने प्रति दिन, प्रति व्यक्ति दैनिक खर्च र, उनीहरूको नेपाल बसाई अवधि पनि बढेको थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागले सन् २०२१ मा सार्वजनिक गरेको ‘नेपाल टुरिजम स्टाटिस्टिक-२०२०’ नामक किताबमा उल्लेख भएअनुसार सन् २०२० मा नेपाल घुम्न आएका विदेशी पर्यटकको प्रति दिन, बसाई अवधि १५.१ दिन र प्रति व्यक्ति, प्रति दिन खर्च गराई ६५ अमेरिकी डलर रहेको छ । यो नै नेपाल घुम्न आएका विदेशी पर्यटकको प्रति दिन, बसाई अवधि र प्रति व्यक्ति, प्रति दिन खर्च गराई रहेको छ । हाल कोभिड–१९ ठिक अवस्थामा फर्किएको हो, होइन ? कुनै टुङ्गोमा पुग्न सकिएको छैन ।
त्यसैले आगामी दिनमा नेपाल भ्रमण गर्न आउने विदेशी पर्यटकको सङ्ख्या बढ्ने वा घट्ने केकसो हो ? अहिले नै किटेर केही भन्न सक्ने अवस्था छैन । अब हामीले कम्तीमा सन् २०२० मा नेपाल घुम्न आएका विदेशी पर्यटकको प्रति दिन बसाई अवधि १५ दिन जुन छ, सो र प्रति व्यक्ति, प्रति दिन खर्च गराई ६५ अमेरिकी डलर पुगेको थियो, त्यसलाई बढाउन नसके पनि हामीले अहिलेलाई कायम राख्ने प्रयासचाहिँ गर्नुपर्ने देखिन्छ ।