यतिबेला मानिसको हात हातमा मिडिया छ । हरेक मिडियाको सम्पूर्ण सामग्री 'हातै'मा हेर्न मिल्छ । 'स्मार्टफोन' बोक्ने सबै आफूलाई पत्रकार झैँ भएर 'खुराक' पस्कन हतार गर्छन् । वास्तविक मिडियाकर्मी पनि 'न्युज ब्रेकिङ' गर्ने हतारो र दबाबमा हुन्छन् । अनि कहिलेकाहीँ फुर्सदमा पछुताउने पनि गर्छन् ।
आज यत्तिका मिडियाकर्मीहरूको भिड देखिए तापनि सुनसरीको पहिलो मिडियाकर्मी को थिए होलान् ? सुनसरीको पहिलो समाचार पत्रिका कुन थियो होला ? पहिलो प्रेसपास प्राप्त गर्ने व्यक्ति को थिए होलान् ? पत्रकारिता अध्यापन गराउने गुरु को थिए होलान् ? पहिलो प्रेस कुन थियो होला ? यी र यस्ता मिडियासँग सम्बन्धित हजारौँ प्रश्नका उत्तर लिएर हालै बजारमा आएका छन् पत्रकार भोजराज श्रेष्ठ ।
हुन त भोजराज श्रेष्ठ सञ्चारकर्ममा आएको दुई दशक भइसकेको छ । तर जहिले अर्काको खबर मात्र लेख्ने उनी अहिले आफै समाचार बनेर आएका छन् । पुस्तक लेखक बनेर आएका छन् र नै समाचार पनि बनेका हुन् । उनले हालै 'सुनसरीको मिडिया परिदृश्य पुस्तक' सार्वजनिक गरेका हुन् ।
रोजगारको सिलसिलामा पढाई बिचमै छाडेर बिदेसिएका श्रेष्ठले धरान फर्किएपछि पत्रकारितामा आफूलाई समर्पित गरे । सँगसँगै अधुरो रहेको अध्ययनलाई पनि निरन्तरता दिए । आम सञ्चारमा स्नातकोत्तर गरेका उनले सोही विषयको प्राज्ञिक अनुसन्धानमूलक कार्यपत्रलाई पुस्तकको रूप दिएको अनुमान गर्न सकिन्छ । श्रेष्ठले पुस्तकमा सञ्चारको विश्व इतिहासदेखि धरानको हालसम्मको गतिविधि सरसर्ती उतारेका छन् । रोमको मुख्य मुख्य चोकहरूमा टाँसिएका सूचनाहरू 'एक्टा ड्युर्ना' जसलाई विश्वको पहिलो अखबार को रूप मानिन्छ । 'एक्टा ड्युर्ना'सँगै सुरु भएको विश्वको पत्रकारितादेखि धरानमा हाल चलिरहेका नयाँ नयाँ अनलाइन छापा र युट्युबसम्मका मिडियालाई उनले परिदृश्यको विषय बनाएका छन् ।
सातवटा खण्डमा विभाजन गरेर श्रेष्ठले सुनसरीको मिडिया इतिहासको चिरफार गर्ने प्रयत्न गरेका छन् । पहिलो परिचय खण्डमा उनले पत्रकारिताको अर्थ, इतिहास, नेपाली पत्रकारिताको संक्षिप्त इतिहास, सुरुवात र सुनसरीको पत्रकारिता बारे थोरै चर्चाबाट पुस्तकको सुरुवात गरेका छन् । सैद्धान्तिक धरातल शीर्षकमा दोस्रो खण्ड छ । यो चाहिँ उनको शोधग्रन्थको आवश्यक तत्त्वभित्र पर्ने एउटा प्रस्तुति जस्तो देखिन्छ । यो शीर्षकमा उनले पुस्तक लेखनको विधि, धरानेली सञ्चारमाध्यमको सुरुवाती दौर र इतिहासको चर्चा गर्ने प्रयत्न गरेका छन् ।
सुनसरीको मिडिया परिदृश्य शीर्षक भएको यो ग्रन्थको मुख्य खण्ड भनेको तेस्रो खण्ड हो । सुनसरीमा पत्रकारिता खण्डमा उनले यो क्षेत्रको सञ्चार यात्रालाई विस्तारमा केलाउने र खुट्याउने प्रयत्न गरेका छन् । यो खण्ड वास्तवमा यहाँको मिडियाबारे जान्न चाहनेहरूका लागि उत्कृष्ट सामग्री बन्न सक्ने देखिन्छ । यो खण्डमा उनले सुनसरीका पहिलो पत्रकार भन्दै अम्बिका प्रसाद श्रेष्ठको उल्लेख गरेता पनि पहिलो भनेर दाबी गर्न सकेका छैनन् । अम्बिका श्रेष्ठको सम्पादकत्वमा प्रकाशित साँगुरी पत्रिका सुनसरीको पहिलो समाचारपत्रका रूपमा दर्ता भएको पुस्तकमा उल्लेख गरिएको छ । यो खण्डमा धरानमा प्रेसको स्थापना, पत्रिकाको सुरुवात, विकास, पहिलो प्रेसपास प्राप्त गर्ने गोविन्द तिम्सिना, नेपाल पत्रकार सङ्घ र गिरिराज आचार्यको पहिलो समिति, चन्द्रमणि अधिकारीले महेन्द्र क्याम्पसमा पत्रकारिता प्राध्यापन गरेको कुराहरू समेटेका छन् ।
उनले यहाँका सबै प्रिन्ट मिडियाका नामहरू उल्लेख गरेर भविष्यका लागि अभिलेखीकरण गर्ने कार्य पनि गरेका छन् । त्यसका लागि उनी सम्मानका पात्र बनेका छन् । पुस्तकको यो खण्डमा उनले पत्रकारिता र यहाँको विभिन्न कालखण्ड छुट्याएर विश्लेषण गर्ने प्रयत्न गरेका हुन् । तर विश्लेषण चाहिँ पूर्ण रहेको देखिँदैन । अभिलेखीकरणमा चाहिँ भोजराजको मेहनत प्रष्ट देखिन्छ ।
धरानमा २०१० सालमा प्रकाशित 'छात्रधारा'को प्रकाशनदेखि अहिले चलेका युट्युब च्यानलसम्म, एक एक वटा अक्षर हातले मिलाएर तयार गर्ने प्रिन्टिङ प्रेसदेखि वेबप्रेससम्म, रेडियोदेखि टेलिभिजनसम्म कोही इतिहास खोतल्ने प्रयास गरेका छन् । तर सबै मिडियाका सम्पादकका बारेमा उल्लेख गरे पनि धरानको एक मात्र टेलिभिजनको संस्थापक सम्पादकको नाम उल्लेख गर्न भने श्रेष्ठले कन्जुस्याइँ गरेको देखिन्छ । यतिको धेरै सामग्रीको खोजी गर्नु, त्यसलाई सिलसिलेवार गर्नु र विभिन्न मानिसको कुराकानी समेट्नुपर्ने कठिन अभियानमा यस्ता छिटपुट कुराहरू छुट्नु अत्यन्तै सामान्य कुरा मान्नुपर्दछ।
मिडिया परिदृश्यको चौथो खण्डमा पत्रकारिताको अभ्यास, पाँचौँ खण्डमा सुनसरीका पत्रकारहरू, छैठौ खण्डमा केही सञ्चार माध्यम र अन्तिम खण्डमा उपसंहार शीर्षकमा अन्य धेरै विषय समेट्ने प्रयास गरेका छन् । उनले सम्भव भएसम्म सुनसरीलाई कार्यक्षेत्र बनाउने सबै सञ्चारकर्मीको नाम उल्लेख गरेका छन् । यो पुस्तक इतिहासको कालखण्डमा कुनै समय पढियो भने ती पत्रकारहरूको काम गरेको संस्था र उनीहरूको नाम जीवित रहिरहने देखिन्छ । इतिहास निर्माण गर्नु ठुलो कुरा होला तर इतिहासलाई अभिलेखीकरण गरेर भविष्यका लागि सङ्ग्रह गर्नु भनेको त्यो भन्दा पनि महत्त्वपूर्ण कार्य हो ।भोजराज श्रेष्ठले सुनसरीको मिडिया क्षेत्रमा इतिहास निर्माण गर्ने हरेकको इतिहास जीवन्त बनाउने र भावी पुस्तामा पुर्याउने कार्य गरेका छन् । त्यसका लागि पनि उनी सम्मानका पात्र बनेका हुन् ।
यति हुँदाहुँदै पनि पुस्तक तयार गर्ने क्रममा भोजराज श्रेष्ठले केही कुराहरू उल्लेख गर्न छुटाएका छन् । उनले विभिन्न कालखण्डको चर्चा गर्ने क्रममा २०५८-०६१ को ज्ञानेन्द्र शासनखण्डको चर्चा गर्न भने छुटाएका हुन् सञ्चारकर्मीका लागि २०६०-०६१ पञ्चायत भन्दा पनि कठोर समय भएर आएको उनले भुसुक्कै बिर्सिएका छन् ।
त्यो समय तत्कालीन राजा ज्ञानेन्द्रले शासन सत्ता आफ्नो हातमा लिएर दलहरूलाई प्रतिबन्ध लगाएको समय थियो । सञ्चार माध्यम कठोर नियन्त्रणमा थियो । त्यो बेला हतियारधारी सैनिकहरू पत्रिकाको कार्यालयमा घेरा हाल्थे । सम्पादकको टेबल र डेस्कटपमा पेस्तोल राखेर उनीहरू पत्रिकाको डमी पुरै पढेर सेन्सर गर्थे । सेनाले सेन्सर पास नगरी पत्रिका प्रकाशन गर्न पाइँदैन थियो । सायद इतिहासमै यसरी सेनाले सेन्सर गरेर पत्रिका प्रकाशन गर्नुपरेको कहिल्यै थिएन होला । त्यतिले नपुगेर सेनाले मर्निङ टाइम्सको एउटा पुरै अङ्क छापाखानाबाटै उठाएर लगेको थियो । ब्लास्ट दैनिकका सम्पादक किशोर कुमार कार्कीलाई उठाएर इटहरी पृतना पुर्याएर कागज गरेर छोडेको थियो । त्यो कहालीलाग्दो समयमा पनि धरानको पत्रिकाले आफ्नो धर्म छाडेन । यो कुरा उल्लेख गर्न बिर्सिनु भनेको यहाँको मिडियाको इतिहास अपुरो रहनु पनि हो भन्ने लाग्छ ।
यसबाहेक उनले विभिन्न मिडियाहरू स्थापनाको मिसनका कुरा पनि उल्लेख गरेका छन् । तर मुख्य दुई पत्रिकाको मिसनबारे छुटाएका छन् -जस्तो विजयपुर साप्ताहिकको स्थापना विजयपुर जिल्ला स्थापनाको मिसनका लागि भएको थियो । तर पछि विजयपुर साप्ताहिकले नै आफ्नो मिसन भुल्यो । र, जातीय अधिकारको मिसनमा अघि बढ्यो । कालान्तरमा यो पत्रिका माओवादी समर्थनमा ढल्कियो । अर्को मर्निङ टाइम्स दैनिक तत्कालीन ज्ञानेन्द्र शासनका विरुद्ध र गणतन्त्र स्थापनाको मिसन लिएर सुरु गरिएको थियो । त्यो पनि श्रेष्ठले उल्लेख गर्न छुटाएका छन् । त्यसबाहेक यहाँका पत्रकारहरूले राष्ट्रिय पुरस्कारहरू पाएको, राष्ट्रिय स्तरका नियुक्ति पाएको कुरा पनि उल्लेख गर्न सकिने विषय बन्थ्यो । त्यो पनि इतिहासका लागि गौरव गर्ने विषय बन्ने थियो । उदाहरणका लागि हर्ष सुब्बाले पाएको राष्ट्रिय पत्रकारिता पुरस्कार र भवानी बरालले प्राप्त गरेको प्रेस काउन्सिलको अध्यक्षको नियुक्तिका घटनाहरू पनि उल्लेख गर्दा हुने थियो । यसबाहेक वर्तमान समयमा मिसन पत्रकारिता हराउँदै गएको, व्यावसायिक पत्रकारिता खिइँदै गएको, खोजी पत्रकारिता भुत्ते हुँदै गएको कुराबारे पनि चर्चा गर्न सकिने विषय बन्ने थियो । भारतमा एउटा शब्द निकै चर्चित छ 'गोदी मिडिया' । धरानमा गोदी मिडियालाई पनि पछि पार्ने गरी केही सञ्चारकर्मीहरू निरन्तर लागेको देखिएको छ । एउटा मात्र व्यक्ति केन्द्रित यस्ता मिडियाले भविष्यमा आफूलाई कुन ढङ्गमा प्रस्तुत गर्लान् त्यो हेर्न भने इतिहास नै पर्खनुपर्ने हुन्छ ।
तथापि भोजराजको प्रयासलाई, यो अभिलेखीकरणको क्षेत्रमा दुस्साहस गरेको मान्न सकिन्छ । सधैँ अर्काको समाचार लेख्नेहरूले आफ्नोबारे कमै लेखेका होलान् । त्यसमध्ये मनिता चाम्लिङ, भवानी बराल लगायतले शोध ग्रन्थहरू तयार गरे होलान् । तर, पुस्तक प्रकाशन गर्ने साहस गर्न सकेनन् । यस मानेमा श्रेष्ठको कार्यलाई दुस्साहस नै मान्नुपर्दछ । पुस्तक प्रकाशन गर्नु सहज छैन । सहज भइदिएको भए धेरैले यही काम गर्ने थिए होलान् ।
यो पुस्तक सुनसरी र त्यसमध्ये पनि धरानको पत्रकारिता को इतिहास हो । इतिहासको अभिलेख हो । र, भविष्यका लागि गहन दस्ताबेज पनि हो । धरान रिडर्स ग्रुपले प्रकाशन गरेर ६ सय ९९ मूल्य राखेको २ सय ५४ पृष्ठको यो पुस्तक खरिद गरेर अध्ययन गर्न र सङ्ग्रह गर्न योग्य एक सामग्री भने अवश्य हुनेछ।