धरान : प्रदेश सरकारले प्रदेश सभामा खुल्ला छलफल, बहस नगरी रातारात छलेर छापामार शैलीमा गरेको कोशी प्रदेश नामाङ्कनले ऐतिहासिक भूमिमा विद्रोहको दीर्घकालीन बीजारोपण गरिदिएको आरोप जनता समाजवादी पार्टीका पहिचान सम्बद्ध प्रदेश समितिहरूले लगाएको छ । 
पत्रकार महासङ्घ कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा किरात राष्ट्रिय समितिका अध्यक्ष रमेश राईले भने ‘ऐतिहासिक भूमि, यहाँका आदिवासी समुदायको पहिचान मेटाउने षडयन्त्रपूर्ण नामकरणको विरुद्धमा सरोकारवालाहरू सँग मिलेर आन्दोलनको घोषणा गर्ने तयारीमा छौँ ।’
कोशी सबैको साझा पहिचान होइन । कुनै समुदाय र आन्दोलनको माग भएको भए लुकिछिपी प्रस्ताव किन ल्याइयो भनी प्रश्न गर्दै पत्रकार सम्मेलनमा जारी विज्ञप्तिमा भनिएको छ, यो नामले आम जनसमुदायको माग भावना र जनादेशलाई सम्बोधन गर्दै । यसले देश प्रतिगमन तिर गइरहेको पुष्टि गरेको उल्लेख गर्दै कोशी नाम खारेजीको आन्दोलन लिम्बुवान, किरात, शेर्पालुङ सहित १० प्लस १ प्रदेश सुनिश्चित नभएर सम्म जारी रहने विज्ञप्तिमा छ । 
जसपा सम्बद्ध किरात राष्ट्रिय समिति अध्यक्ष रमेश राई, लिम्बुवान राष्ट्रिय समिति अध्यक्ष खगेन्द्र माखिम, मधेस राष्ट्रिय समिति अध्यक्ष जयराम यादव, शेर्पालुङ राष्ट्रिय समिति संयोजक नुर्वु शेर्पा, शिल्पी/दलित राष्ट्रिय समिति सह-इञ्चार्ज दलमर्दन कामी, प्रवास विशेष समिति इन्चार्ज आङकाजी शेर्पाको हस्ताक्षर विज्ञप्तिमा छ।
पत्रकार सम्मेलनमा प्रदेश सभामा उपस्थित भए पनि जसापाका सांसद तथा स्वास्थ्य मन्त्री निर्मला लिम्बुलाई कोशी प्रदेशको विपक्षमा मतदान गर्नबाट वञ्चित गरिएको पार्टीका केन्द्रीय सदस्य भीम राईले बताए । छापामार शैलीमा गरिएको मतदानको बेला रेष्टरुम गएको बेला ढोक बन्द गरी मन्त्री समेत रहेकी लिम्बुलाई मतदानबाट वञ्चित गरिएको उनको भनाई थियो । 
पत्रकारहरूले पार्टीको मन्त्री समेत भएकीले उनको पद जोगाउन मतदान गर्नबाट वञ्चित गरेको आरोप झारा टार्न मात्र लगाइएको आशङ्का प्रकट गरेका थिए । केन्द्रीय सदस्य राईले प्रदेशको नामकरण जुन तरिकाले लगुकाई, छिपाई गरिएको छ, त्यसले पार्टीकी सांसदलाई नियतवश मतदानबाट वञ्चित गरिएको पुष्टि हुने बताए ।
९३ सदस्य प्रदेश सभामा मतदानका बेला ८७ जना सदस्यहरू उपस्थित थिए । त्यस मध्ये ढिलो आएकोमा जसपाकी सांसद तथा स्वास्थ्य मन्त्री निर्मला लिम्बु र राप्रपाकी सांसद सबिना बजगाईँले मतदानमा भाग लिन पाइनन् । कोशी प्रदेशको पक्षमा ८२, विपक्षमा ४ मत परेको थियो ।