इटहरी : नेपाली काँग्रेस केन्द्रीय सदस्य राजीव कोइरालाले कम्युनिस्ट सँग गठबन्धन गरेर काँग्रेसले गल्ती गरेको बताएका छन् । कम्युनिस्ट र किर्नाको चरित्र मिल्ने भएकाले काँग्रेसलाई चुस्ने सँग गठबन्धन गर्न नहुने बताए ।
नेपाली काँग्रेस इटहरी उपमहानगर समितिको नगर सम्मेलनमा सम्बोधन गर्दै कोइरालाले काँग्रेस आफैमा सक्षम र सबल भएको धारणा राखे । विचार, सिद्धान्त र सङ्गठनका हिसाबमा काँग्रेस मजबुत गरेको बताउँदै उनले त्यसलाई समयअनुसार परिष्कृत गर्न बाकी रहेको बताए ।
चरित्र र सिद्धान्त नमिल्ने तर चुसिमात्र राख्ने किर्ना सँगको तालमेलको कारण काँग्रेस बदनाम भएको उनको ठहर छ ।  पुरानतवादी दलहरू र केही नयाँ भनिएका दलहरू पश्चगामी चरित्रको भएको उनको भनाई छ । नेपाली काँग्रेस सिद्धान्त र विचारमा अग्रगामी पार्टी भएको जनाउँदै उनले त्यही अनुसारको व्यवहार गर्नुपर्ने धारणा राखे ।
सम्मेलनमा अर्का केन्द्रीय सदस्य राजीव ढुङ्गानाले काँग्रेसका कार्यकर्ताले टोलदेखीनै पार्टीको प्रचार गर्न आग्रह गरे । काँग्रेसलाई मजबुद बनाउने कार्यकर्ताको ठुलो हात रहेको उनको बुझाई छ । केन्द्रीय नेतृत्वलाई गालिगर्ने बानी परेर विपक्षी दलको आलोचना गर्न बिर्सिँदै गएको प्रति गुनासो गर्दै उनले विपक्षी सँग भिड्ने समयमा आपसमा नभिड्न आग्रह गरे संविधानसभा सदस्य सिताराम मेहताले पनि काँग्रेसलाई बलियो बनाएर लैजानुपर्ने बताए ।
नेविसंघ सुनसरी जिल्ला सभापति प्रमोद भट्टराई युवाहरूको जोसले अब काँग्रेस सबलताको बाटोमा लागेको धारणा राखे । पार्टीले दिएको जिम्मेवारी पुरागर्ने बाचा गरेका उनले युवा तथा विद्यार्थी माझ लोकतान्त्रिक प्रणाली र संसदीय व्यवस्थाको विषयमा बुझाउन जरुरी रहेको बताए ।
खुल्ला सत्र कार्यक्रममा प्रदेश सदस्यहरू सुरज राई, सिजन गुरुङ, महाधिवेशन प्रतिनिधि विकाश केसी तथा नेपाली काँग्रेस क्षेत्र नम्बर २ (१) का सभापति सुवेच्छुक देवान लगायतले धारणा राखे । बन्द सत्रमा क्रियाशील सदस्यको धारणा बुझेपछि केन्द्रीय, जिल्ला र नगर नेतृत्वले जवाफ दिएका छन् ।