धरान : अखिल नेपाल फुटबल संघका मानार्थ केन्द्रीय उपाध्यक्ष तथा कोशी प्रदेश फुटबल संघका नवनिर्वाचित अध्यक्ष किशोर राईले आर्थिक वर्ष २०८०/०८१ को संघिय बजेट खेलकुद क्षेत्रको लागि निराशाजनक रूपमा आएको र बजेटले नेपाली फुटबल खेललाई अपमानित समेत गरेको बताएका छन् ।

भर्खरै सम्पन्न प्रदेश फुटबल संघको प्रथम अधिवेशनको बारेमा जानकारी दिन आज मङ्गलवार बिहान आयोजित पत्रकार सम्मेलनमा संघीय बजेटको समीक्षा गर्दै उनले भने ‘नेपाली खेलकुद जगतलाई व्यवसायीकरण गर्दे समग्र खेलकुदको बजारीकरण गर्न सातैवटा प्रदेशलाई सम्बोधन गर्ने कुराबाट सरकार पछि हटेको छ ।’ यो खेलकुद क्षेत्रका लागि निराशाजनक कुरा भएको उनले बताए ।

एन्फा मानार्थ उपाध्यक्ष राईले भने ‘बजेटले नेपाली फुटबललाई अपमानित गर्‍यो ।’ फुटबललाई एकातिर राखेर अरू सबै खेलकुद अर्को तिर राखे पनि फुटबलको बजारसँग प्रतिस्पर्धा गर्न नसक्ने यथार्थलाई बिर्सिएर बजेटमा विभेद र असमानको व्यवहार गरिएको उनको भनाई छ ।

फुटबललाई न्याय दिलाउन र समग्र खेलकुदको समान विकासको लागि संघर्ष बजेट सच्याउन देशव्यापी संघर्ष गर्ने उनले बताए । नेपाली खेलकुद जगतमा लोकप्रिय र युवाहरू व्यवसायिक समर्पित भएको फुटबललाई सरकारले सम्बोधन नगरेकोमा प्रदेश फुटबल संघ अध्यक्ष राईले आक्रोश प्रकट गरे ।

नेपाली खेलकुद जगतलाई व्यवसायीकरण गर्न सातैवटा प्रदेशमा आधुनिक स्पोर्ट स्कुलहरू, एकेडेमी सञ्चालन गर्ने कुरा बजेटमा नपरेकोमा उनी आक्रोशित भएका हुन । दुईवटा रंगशालालाई क्रिकेट रंगशाला र विराटनगर रंगशालामा मात्र बजेट विनियोजन आपत्तिजनक रहेका उनले बताए । उनले भने ‘सरकार क्रिकेटलाई मात्र उपलब्धी ठानेर अन्य सब खेलकुदको वृत्ति विकास अवरुद्ध गर्ने बाटोमा लागेको छ ।’

प्रदेश फुटबल संघका नवनिर्वाचित अध्यक्ष राईले धरानमा रात्रिकालीन फुटबल प्रतियोगिता सञ्चालन गर्न प्रयास भइरहेको बताए । त्यस्को लागि फोर्टलाइट जडान गर्न साढे ८ करोड रुपैयाँ चाहिने बताउँदै सरकारी बजेट नपाए देश विदेशका धरानेहरुबाट सयोग सङ्कलन गरेर भएपनि प्रबन्ध गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रदेशको खेलकुदलाई व्यवसायीकरण गर्न तिनै तहको सरकारको लगानी आवश्यक भएको बताउँदै उनले संघीय खेलकुद मन्त्री सँग आज हुने भेटमा रात्रिकालीन फुटबलको अवधारण राख्ने बताउँदै प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीसँग पनि भेट्ने समय मिलाउने काम भइरहेको जानकारी दिए ।

स्थानिय सरकार धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई धरान फुटबलको हब भएकोले धरानको समग्र विकाससँगै खेलकुदलाई समान रूपमा हेर्नुपर्नेमा ध्यानाकर्षण गराए ।

उनले पत्रकार सम्मेलन मार्फत मेयर साम्पाङलाई आग्रह गर्दै भने ‘तपाईँको नेतृत्वमा चाँडोभन्दा चाँडो जनप्रतिनिधि, पूर्व जनप्रतिनिधि विज्ञहरुसँग एउटा कार्यशालामा बसेर धरानको सर्वाङर्णम विकासको योजनामा अगाडि बढौँ ।’

राजनैतिकदलहरुले पनि सच्चिँदै धरानको विकासमा सहमतिको वातावरण बनाउन जरुरी भएको उनले बताए । धरानबाट निर्वाचित सांसद तथा मन्त्रीहरूले कम्तिमा पाँच वटा देखिने किसिमका काम गरिदिने अध्यक्ष राईले आग्रह गरे ।

उनले भने ‘हामीले अशोक राईलाई जिताएर पठाएका छौँ, उनले शिक्षा मन्त्री भए पनि धरानबासीको नाताले क्याबिनेटमा धरानका तीन-चार वटा राष्ट्रिय गौरवको योजना पास गराउन भएका धरानको विकास क्रम सुरु हुन्छ ।’ स्वास्थ्य, शिक्षा, पर्यटन खेलकुद क्षेत्रलाई समेटेर त्यस्ता योजना ल्याउन जरुरी छ ।

धरानको स्थानीय सरकारले विकासका लागि सम्पूर्णलाई जोडेर केन्द्रसम्म लबिङ गर्नुपर्ने उनले बताए । ‘विकासको अपेक्षा गर्नु पर्छ किन भएन भनेर गालामा हात राखेरमात्र बस्नु हुँदैन ।’ धरानका मन्त्री सांसद, पूर्व मन्त्री, पूर्व मेयरहरू छन्, सबैलाई जोड्नु पर्छ, आफैमात्र गर्न सक्छु भनेर आफै मात्र सबैथोक भनेर बसेर धरान विकास नहुने उनले बताए ।