धरान : धरान-१६ स्थित शारदा बालिका नमुना माविमा ढल्किँदो उमेरका आमाहरू पढ्न आउन थालेपछि स्कुलका छात्राहरूका लागि रमाइलो भएको छ ।

विद्यालयमा हालै ५४ वर्षिया साहारा गुरुङ र ३८ वर्षिया सङ्गीता परियार कक्षा ५ मा भर्ना भएकी छन् । उनीहरू स्कुल आउन थालेपछि विद्यालयका छात्राहरूलाई नौलो कुरा लागेको छ।

सङ्गीता भन्छिन् ‘हामीलाई देखेर उनीहरू सोध्छन् तपाईँहरू पनि पढ्न आउनु भएको हो ?’ कतिले बुढी मान्छे भएर लाज लाग्दैन पनि भनेको सुनियो । उनले भनिन् ‘तर हामी आँखा देख्न आएका हौ हामीलाई पढ्न मन छ भन्छौ ।’

उनीहरू उमेरमा स्कुल पढ्दा पढ्दै पढाई छुटेर प्रौढावास्थामा रमाइलोका लागि फेरी स्कुलमा भर्ना भएका भने होइनन् । स्कुलै नगएका उनीहरू प्रौढ कक्षा ३ महिना सम्म पढेपछि कक्षा ५ मा भर्ना हुन सक्षम भएका हुन ।

धरान-११ सुनौलो बस्तीका गृहिणी महिलाहरूका लागि रोटरी क्लब अफ धरानले तिन महिने प्रौढ शिक्षाको कक्षा सञ्चालन गरेको हो । कक्षामा बस्तीका २५ जना महिलाहरू सहभागी थिए।

पहिला बाबु आमाले आर्थिक अवस्था कमजोर भएका कारण पढाउन नसकेको उनीहरूको भनाई छ। नाम लेख्न पनि नसक्दा आफ्नो नाम अरूले लेखिदिनु पर्ने अवस्था रहेका उनीहरूले बताए ।

अहिले रोटरी क्लबको प्रौढ शिक्षा कक्षाले आँखा खोलिदिएको उनीहरू बताउँछन् । त्यसमध्येका साहारा र सङ्गीतामा विद्यालयमा गएर पढ्ने आत्मविश्वास र इच्छा जागेपछि प्राथमिक तहको कक्षा ५ मा भर्ना भएकी हुन् ।

साहारा भन्छिन् ‘प्रौढ कक्षाबाट शिक्षाको महत्त्व बुझेपछि अहिले हामी दुवै जना नियमित स्कुल गएर पढ्न थालेका छौँ ।’

प्रौढ कक्षामा सहभागी अधिकांश गृहिणी महिलाका स्कुल जाने छोराछोरी छन् । नानीहरू स्कुल गएपछि खाली समयमा प्रौढ कक्षामा पढ्न आउने गरेका थिए ।

साहारा र सङ्गीताले खाली समयको सदुपयोग गर्न स्कुलमा समेत भर्ना भएको प्रौढ कक्षाकी सहजकर्ता विजेता सिंहले बताइन् ।

उक्त तिन महिने प्रौढ कक्षाको सोमवार समापन गरिएको छ। समापन कार्यक्रम धरान वडा-११ का अध्यक्ष लोकेन्द्र फागुले प्रौढ कक्षा बस्तीका महिलाहरूकालागि आँखा खोल्ने सम्मको उपलब्धिमूलक भएको बताए ।

प्रशिक्षार्थीहरुले प्रौढ कक्षामा आफूले धेरै कुरा सिकेको र कार्यक्रमलाई निरन्तरता दिन अनुरोध गरेको कार्यक्रम संयोजक सल्मा जोशीले बताइन् ।

समापनमा प्रमुख अतिथि वडाध्यक्ष फागुले प्रौढ कक्षामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्नेहरूलाई पुरस्कार गरे । सोही अवसरमा सहभागी सबैलाई पाठ्य सामाग्री वितरण गरिएको थियो ।

रोटरी क्लब अफ धरानका प्रेसिडेन्ट इलेक्ट रोटेरीयन दिनेश श्रेष्ठको सभापतित्वमा भएको समापनमा रोटरी क्लब अफ धरानका एजि रोटरीयन रोविन श्रेष्ठ लगायत सदस्यहरू उपस्थित थिए ।

शारदा बालिका नमुना माविका सहायक प्रअ मैयाँ खड्का, टोल विकास समितिका अध्यक्ष लगायतको उपस्थिति थियो । सञ्चालन रोटरी क्लब अफ धरानका सचिव रोटेरीयन दिभा श्रेष्ठले गरेकी थिइन् ।

mummy-student-2