धरान : भारतको ओडिशा राज्यको बालासोर जिल्लामा रेल दुर्घटना हुँदा २३३ जना को मृत्यु भएको छ । बिबिसी हिन्दीका अनुसार चेन्नईबाट हावडा गइरहेको कोरोमन्डल एक्सप्रेस अर्को मालवाहक रेलसँग ठोक्किएको थियो । त्यसपछि रेलको केही बग्गी लिकबाट पल्टिएका थिए ।
बिबिसी हिन्दीको अनलाइन संस्करण अनुसार दुर्घटनामा २३३ जनाको मृत्यु भएको छ भने करिब ९ सय जना घाइते भएका छन् । दुर्घटना शुक्रवार साँझ ७ बजेतिर बालासोर जिल्लाको बाहानागा बजारस्टेसन नजिकै भएको हो ।
भारतीय रेलमन्त्री अश्विनी वैष्णव दुर्घटना स्थल पुगेका छन् । उनले ट्विट गर्दै दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । साथै सरकारका तर्फबाट मृतकका परिवारलाई १०/१० लाख रुपैयाँ राहत दिने घोषणा पनि गरेका छन् । त्यस्तै उपचारका लागि गम्भीर घाइतेलाई २ लाख र सामान्य घाइतेलाई ५० हजार रुपैयाँ उपलब्ध गराइने पनि उनको घोषणा छ।
शुक्रवार साँझदेखि नै उद्धार र राहत कार्य तीव्र बनाइएको पनि भारतीय अधिकारीहरूले जनाएका छन् । प्रत्यक्षदर्शीहरूका अनुसार पल्टिएका रेलका बग्गीले यात्रु थिचिएका थिए । उद्धारका लागि घटनास्थलमा १०० भन्दा बढी एम्बुलेन्स र ५० भन्दा बढी बस परिचालन गरिएको छ ।
भारत भ्रमणका क्रममा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारप्रति समवेदना प्रकट गरेका छन् ।