धरान : नेपाली फिल्म उद्योग, मनोरञ्जन क्षेत्रलाई प्रवर्द्धन गर्न चलचित्र पत्रकारितालाई प्रभावकारी बनाउन धरानमा चलचित्र पत्रकारहरूको तीन दिने कार्यशाला आइतबार देखी सुरु भएको छ ।

कार्यशाला चलचित्र पत्रकारिताको अवधारणा, चलचित्र निर्माण, समीक्षा लेखन, गसिप, न्यु मिडिया र मल्टिमिडिया विषयमा प्रशिक्षणमूलक रहेको चलचित्र पत्रकार सङ्घ सुनसरीका अध्यक्ष विनोद विश्वकर्माले बताएका छन् ।

उक्त अवसरमा वरिष्ठ पत्रकार हर्ष सुब्बाले पत्रकार आचारसंहिताले मात्र अहिले मूलधारको पत्रकारिता र सामाजिक सञ्जाल प्रयोगकर्ता छुट्याउने बताए ।

आचार संहिताको उल्लङ्घनका घटना बढेको चर्चा गर्दै पत्रकारितामा करियर, व्यक्तित्व बनाउन आचारसंहिताले महत्त्वपूर्ण भूमिका खेल्ने बताए । समाचार लेखन तथा प्रस्तुतीकरणमा सन्तुलन आचार संहिताको मूल मर्म भएको उनको भनाई थियो ।

नेपाल पत्रकार महासघ सुनसरी अध्यक्ष जनकऋषि राईले चलचित्र पत्रकारिता कार्यशालाले चलचित्र बिटमा कलम चलाउने सक्षमता हासिल होस भन्दै कार्यशाला गोष्ठी को शुभकामना दिए ।

चलचित्र निर्देशक, सञ्चारकर्मी भीषण राई, चलचित्र निर्देशक लक्ष्मण सुवेदी, चलचित्र पत्रकार विजय आवाज, प्रशिक्षक रोनिश राउतले सहभागीलाई प्रशिक्षण दिने छन् ।

कार्यशाला समापनमा चलचित्र विकास बोर्डका अध्यक्ष चर्चित कलाकार भुवन केसीको उपस्थिति रहने र दुई जना पत्रकार पुरस्कृत गरिने बताइएको छ।

सोही अवसरमा एकजना वरिष्ठ सिनेकर्मी लाई सम्मानित गरिने छ। अघिल्लो वर्ष झुम्का सुनसरीका आदिवासी चलचित्रका प्रथम निर्देशक पर्शुराम चौधरीलाई सङ्घले सम्मान गरेको थियो ।

harsha-subba-chalachitra