धरान : मुस्लिम मुलुक उज्बेकिस्तानमा उत्पति गरिएको कुराँश खेल विश्वका विभिन्न मुलुक हुँदै नेपालमा पनि खेलिन थालेको छ । नेपालमा कुराँशको दोस्रो राष्ट्रिय प्रतियोगीता धरानमा हुन लागेको हो ।

यसअघि काठमाण्डूमा पहिलो प्रतियोगीता भएको कुराँश मार्शल विधाको छुट्टै खेल भएको नेपाल कुराँश संघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष जीवन राईले आज बुधवार आयोजित पत्रकार सम्मेलनमा बताए ।उनले भने ‘कुराँश पहिलो पटक उज्बेकिस्तानमा उत्पति भएको खेल हो ।’ चीन, भारत लगायत विश्वका धेरै मुलुकमा यसको अन्तर्राष्ट्रिय प्रतियोगिता भैसकेको छ ।

धरानमा हुने राष्ट्रिय प्रतियोगीताको विश्वभर प्रचार हुने भएकोले यसबाट नेपाल तथा धरानको पर्यटन प्रवर्द्धनमा सघाउन पुर्‍याउने प्रतियोगीताका संयोजक समेत रहेका राईले बताए ।

नेपाल कुराश संघ, राष्ट्रिय खेलकुद परिषदबाट मान्यता प्राप्त खेल संघ हो । प्रतियोगीता संघको आयोजनामा जेठ २६, २७, २८ गते सम्म धरान-१३ स्थित अमर सेवा समाजको कभर्ड हलमा हुनेछ ।

पुरूष, महिला, जुनियर र सिनियर चार क्याटेगोरी १९ बिधामा प्रतियोगिता सञ्चालन हुनेछ । प्रतियोगितामा ७ प्रदेशका १५० जना खेलाडी, ५० जना अफिसियल सहभागी हुने छन् ।

विभागीय टिम नेपाल आर्मी, सशस्त्र प्रहरी र नेपाल पुलिस प्रदेशका खेलाडीहरू बिच प्रतियोगीतामा प्रतिस्पर्धा हुनेछ । संयोजक राईले भने ‘कुराँश खेल जुडो र कुस्तीको मिक्स खेल हो ।’

खेल पोशाक लगाएर खेलिने यस खेलमा कलर र बाहुलामा मात्र समातेर खेल प्रतिस्पर्धीलाई लडाउन पर्दछ । लक लगाउन र छालामा टच गर्न पाइन्न ।

प्रतियोगितामा अन्तर्राष्ट्रिय कुराँश महासंघका कार्यवाहक टेक्निकल डाइरेक्टर रवि कपुरको उपस्थिति रहने बताइएको छ ।

प्रतियोगीतामा महिला जुनियरतर्फ ३६ केजीमुनि, ४० केजीमुनि, ४४ केजीमुनि, ४८ केजीमुनि, ५२ केजीमुनि, ५७ केजीमुनि, ६३ केजीमुनि र ६३ केजीमाथि तौल समूहमा प्रतिस्पर्धा हुनेछ ।

यसैगरी महिलाकै सिनियरमा ४० केजीमुनि, ४४ केजीमुनि, ४८ केजीमुनि, ५२ केजीमुनि, ५७ केजीमुनि, ६३ केजीमुनि, ७० केजीमुनि र ७० केजीमाथि प्रतिस्पर्धा हुनेछ ।

पुरूष जुनियरमा भने सात तौलसमूहमा प्रतिस्पर्धा हुने छ । पुरुष प्रतिस्पर्धामा २५ केजीमुनि, ३०  केजीमुनि, ३५ केजीमुनि, ४० केजीमुनि, ४५ केजीमुनि, ५० केजीमुनि र ५० केजीमाथि तौल समूह रहेको छ ।

पुरूषको सिनियरमा ४० केजीमुनि, ४४ केजीमुनि, ४८ केजीमुनि, ५२ केजीमुनि, ५७ केजीमुनि, ६३ केजीमुनि, ७३ केजीमुनि र ७३ केजीमाथि तौल समूहमा खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगितामा खेलाडीहरूले कुल १९ स्वर्ण, १९ कास्य र ३८ रजत  पदकका प्राप्त गर्ने छन् ।

विजेता खेलाडीहरूले १९ स्वर्ण पदक, १९ रजत पदक र ३८ कास्य पदक प्रदान गरिने छ । प्रतियोयगीताका उत्कृष्ट खेलाडी १ महिला, १ पुरुषले अतिरिक्त पदक प्राप्त गर्नेछ ।

प्रतियोगीतामा खेलाडीले प्राप्त गरेको पदकको आधारमा प्रथम, द्वितीय र तृतीय टिमलाई शिल्ड प्रदान गरिने छ ।

कुराँश संघ नेपालमा २०७३ सालमा स्थापना भएको हो । २०७५ सालमा यसको पहिलो राष्ट्रिय प्रतियोगीता काठमाण्डूमा भएको थियो ।

karatee competition