इटहरी : कोशी प्रदेश सरकारले अध्यादेश मार्फत बजेट ल्याउन लागेको भन्दै नेपाली काँग्रेसले आपत्ति जनाएका छन् । काँग्रेस प्रमुख सचेतक भूपेन्द्र राईले विज्ञप्ति जारिगर्दै सरकारको कदमको विरोध जनाएका हुन् ।

२०८० जेठ १४ देखी सुरुभएको बजेट अधिवेशन अर्को सूचना नआएसम्म स्थगित गर्नु प्रदेश सरकारको गैरजिम्मेवारीपन तथा प्रदेशलाई समस्या तिर धकेल्ने प्रयास रहेको विज्ञप्तिमा जनाइएको छ । संसदलाई बन्धक बनाएर अध्यादेश मार्फत बजेट ल्याउने दुस्साहस गरेको काँग्रेसको ठम्याई छ ।

अल्पमतका परेको सरकारले राजीनामा दिएर मार्गप्रशस्त गर्न माग गरेको छ । नेकपा एमाले नेतृत्वको सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्की अल्पमतमा परेका छन् । जेठ १७ गते जसपाले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेको सरकारलाई माओवादी केन्द्रले पनि समर्थन फिर्ता लिएको छ ।

सरकार अल्पमतमा परेपछि अनिश्चित कालका लागि संसद बैठक स्थगित भएको छ । संसद स्थगित गरेर सरकारले अध्यादेश मार्फत बजेट ल्याउने तयारी अगाडी बढाएको छ ।

नेपालको संविधानको धारा २०२ को उपधारा १ का प्रदेशसभाको बैठक चलिरहेको अवस्थामा बाहेक अन्य अवस्थामा तत्काल केही गर्न आवश्यक परेमा प्रदेश मन्त्रिपरिषदको सिफारिसमा प्रदेश प्रमुखले अध्यादेश जारी गर्न सक्ने व्यवस्था गरिएको छ । सोही अनुसार प्रदेश सरकारले बजेट ल्याउने तयारी अगाडी बढाएको भन्दै काँग्रेसले आपत्ति जनाएको हो ।

congress-letter