धरान : कक्षा-९ देखी कम्प्युटर इन्जिनियरिङ विषय पठन पाठन हुँदै आएको धरानको सामुदायिक विद्यालय सहिद स्मृति माविमा यसपालि देखी कक्षा-११ मा पनि उक्त विषयको पढाई सुरु गरिएको छ ।
यस शैक्षिकशत्र देखि प्राविधिक विषय कम्प्युटर इन्जिनियरिङ कक्षा-९ देखि कक्षा-१२ सम्म पढाई हुन थालेको उक्त विद्यालयमा कक्षा ११ वाणिज्य संकायका विद्यार्थीहरूलाई पनि अतिरिक्त समयमा कम्प्युटर कोर्स सुरु गरिएको हो ।
कम्प्युटर इञ्जिनीयरिङको विषय भने कक्षा ९ देखी १२ सम्म ४ वर्षे कोर्स रहेको प्रधानाध्यापक रामबहादुर विष्टले बताए । शुक्रवार पत्रकार सम्मेलनमा उनले भने ‘वाणिज्य संकाय कक्षा-११ विद्यार्थीहरूलाई समेत अतिरिक्त समयमा कम्प्युटर कोर्स सुरु गरिएको छ ।’
उनका अनुसार विद्यालयमा यस शैक्षिकशत्र देखि प्राविधिक शिक्षातर्फ कम्प्युटर इन्जिनियरिङ विषयमा कक्षा-९ देखि कक्षा-१२ सम्म ४ वर्षे कार्यक्रम संचालन गरिएको छ ।
प्रधानाध्यापक विष्टले भने ‘सामुदायिक विद्यालयमा कम्प्युटर इञ्जिनियरीङको पढाई सुरु गर्ने सहिद स्मृति मावि धरानमा पहिलो हो ।’
संस्थागत विद्यालयमा महँगो शुल्क तिरेर कम्प्युटर विषयको शिक्षा लिनु पर्ने बाध्यता तोडिएको उनले बताए । कम्प्युटर इन्जिनियरिङ पढाइका लागि विद्यालयले १ कम्प्युटर इन्जिनियर, १ सहायक इन्जिनियर नियुक्त गरेको छ ।
विद्यालयको कम्प्युटर ल्याबमा २४ बटा व्राण्डेड कम्प्युटर, २४ वटा एसएमवल कम्प्युटर समेत कुल ४८ वटा कम्प्युटर सञ्चालनमा छन् ।
विद्यालयले कम्प्युटर कोर्स गरेका विद्यार्थीहरूलाई कम्प्युटर पढ्दाको छुट्टै प्रमाण-पत्र प्रदान गर्ने व्यवस्था गरिएको प्रधानाध्यापक विष्टले बताए । विद्यालयमा कक्षा ११ देखि १२ सम्म वाणिज्य संकायमा समेत अध्ययन भइरहेको छ ।
कम्प्युटर शिक्षाको लागि महँगो शुल्क तिरेर निजी संस्थाहरूमा धाउने बाध्यता हटाउन विद्यालयले कम्प्युटर कोर्स सुरु गरेको स्कुलका प्रवक्ता राजन बनले बताए ।
उनले भने ‘विद्यालयले निजी इन्स्टिच्युटहरूले महँगो शुल्क लिएर ३ महिने ६ महिने सीमित कोर्स पढाउने होइन ।’ विद्यार्थीहरूका लागि कम्प्युटर ल्याबका २ कोठाको व्यवस्था छ ।
धरानका सामुदायिक स्कुलहरू मध्ये सहिद स्कुल गुणस्तरीय शिक्षा, ल्याब सुविधा सम्पन्न कक्षा कोठा, खेलसामाग्री र खेलमैदान समेत रहेको विद्यालय भएको प्रधानाध्यापक विष्टले बताए ।
sahid smriti 2