धरान : नेपाल टेलिभिजनको 'मेरो भ्वाईस युनिभर्स' पहिलो सिजनमा शीर्ष ५ मा पुगेका प्रतियोगी परेश राईले मङ्गलवार धरानको भानुचौकमा आयोजित साङ्गीतिक कार्यक्रममा शानदार प्रस्तुति दिएर श्रोताहरूलाई प्रभावित बनाए ।

विश्वभर प्रत्यक्ष प्रसारण हुने उक्त प्रतियोगितामा विभिन्न देशका प्रतिस्पर्धीहरूलाई उछिन्दै परेश राई कोशी प्रदेशका एक मात्र 'टप ५' फाईनलिष्ट प्रतियोगी हुन । प्रतियोगितामा विजेता बन्न दर्शक श्रोताहरूको भोटिङको भूमिका महत्त्वपूर्ण हुन्छ । 

सोही भूमिकाका लागि ‘परेश राई जिताऊ अभियान’को क्रममा भानुचौकमा कार्यक्रम भएको हो ।  साङ्गीतिक साँझमा राईले गुराँसै फुल्यो बनैमा, मन माग मन दिन्छु, वारी जमुना पारी जमुना गायन प्रस्तुत गर्दा दर्शक श्रोताका तालीको गडगडाटले उनलाई भोटिङ गर्ने मतदाताहरू धरानमा ठुलै सङ्ख्यामा रहने सङ्केत गरेको छ ।

उनले कार्यक्रममा आँखा आँखा जुधे बेग्लै हुन्छ, चरी उड्यो आकाश छुनलाई, डाँडा घरे साइँली, फर्की जाने जोवनको भर हुन, गाई हिँड्ने गोहा जस्ता दर्जन गीत प्रस्तुत गरे । परेश राईको स्वर र गायनले प्रतियोगितामा उनको विजय सुनिश्चित देखिएता पनि उनलाई भोटिङ गरेर सघाउन अपिल गरिएको छ ।

परेश राई जिताऊ अभियानद्वारा आयोजित साङ्गीतिक साँझको प्रमुख अतिथिमा धरानका मेयर हर्क साम्पाङलाई बोलाइएको थियो । मेयर साम्पाङले आयोजकलाई आउने वचन दिए पनि नआएको संयोजक उमेश मेवाहाङ राईले बताए । उनले भने ‘साङ्गीतिक क्षेत्रका नयाँ प्रतिभालाई प्रोत्साहन दिनुपर्ने मेयर साब आउँछु भनेर नआउनु भएन यो दुःखलाग्दो कुरा हो ।’

कार्यक्रममा धरान सङ्गीत प्रतिष्ठानको अध्यक्ष तथा धरान-२ का वडाध्यक्ष रमेश राई विशेष अतिथि थिए । अध्यक्ष राईले परेश राई जस्तो धेरै सम्भावना भएको उत्कृष्ट प्रतिभालाई भोटिङमा जिताउन आर्थिक भौतिक र नैतिक सहयोग गर्ने प्रतिबद्धता जनाए । उनले प्रतियोगी राईलाई जिताउन सम्पूर्ण धराने जनतालाई आव्हान समेत गरे ।

परेस राई जिताऊ अभियान कार्यक्रम यसअघि सङ्खुवासभाको चैनपुर बजारमा भएको थियो । टप ५मा पुग्न सफल राईलाई जिताउन विभिन्न जिल्लामा साङ्गीतिक कार्यक्रम गरिने भएको छ । पूर्वका राई समुदायलाई भोटङ गर्न सहयोगको अपिल गर्ने संयोजक उमेश मेवाहाङ राईले बताए ।

गायक राईको स्थायी घर सङ्खुवासभा जिल्लाको चैनपुर नगरपालिका वडा-१० हो । उनी निकै मेहनतका साथ गायन क्षेत्रमा लागिपरेकोले उनलाई विजय बनाउन धरानको ठुलो भूमिका हुने भएकोले अभियान चलाएको संयोजक राईले बताए । 

गायक परेश राई आधुनिक एवं लोकगीत गायन क्षेत्रका अब्बल उदीयमान कलाकार हुन् । उनी ऊर्जावान् प्रतिभाशाली गायक भएकाले भोटिङ गरेर कलाकारिताको क्षेत्रको भविष्य उज्ज्वल बनाउन सहयोग गर्न धराने गीत, संगीतप्रेमीहरुलाई अपिल गरिएको हो । 

उनलाई भोट गर्न  माई ईन्ट्रा एप डाउनलोड गर्नु पर्ने साथै ई सेवा र खल्ती एप्स प्रयोगकर्ताहरूले भोट गर्न सक्ने बताइएको छ ।

किरात राई यायोक्खा केन्द्रीय सचिव नगेश चन्द्र राई विशेष अतिथि रहेका थिए भने अतिथिहरूमा सङ्खुवासभा सरोकार समाज अध्यक्ष तथा वडा नं ३ वडा सदस्य मिङमा भोटे, महिला सञ्जाल धरानका पूर्व अध्यक्ष शिला बज्राचार्य, महिला उद्यमी अञ्जना राईको उपस्थिति रहेको थियो । कार्यक्रमको अध्यक्षता पारस राई जिताऊ अभियानका संयोजक उमेश मेवाहाङ राईले गरेका थिए ।

paresh-rai-jitaw