धरान : सुनसरी जिल्ला स्तरीय अन्तर स्कुल प्याब्सन एन्फा प्रेसिडेन्ट कप फुटबल प्रतियोगिता शुक्रबार देखी सुरु हुँदैछ । एन्फा सुनसरीको आयोजनामा हुने प्रतियायेगीताको संयोजक प्याब्सन सुनसरी रहेको छ ।

प्रतियोगितामा जिल्लाका ३२ स्कुल सहभागी हुनेछन् । प्रतियोगिता इटहरीको तालतलैया खेल मैदान र वराहक्षेत्रको भलुवाचौरी खेल मैदानमा हुने बुधवार आयोजित पत्रकार सम्मेलनमा एन्फा सुनसरी अध्यक्ष नवीन राईले बताए ।

उनका अनुसार पहिलो चरणको नकआउट इटहरी उपमहानगरपालिकाबाट १० वटा स्कुल, दुहबीबाट २ वटा झुम्काबाट ४ र गढी गाउँपालिकाबाट १ वटा स्कुल गरी जम्मा १६ वटा स्कुल बिचको खेल इटहरीको तालतलैया खेलमैदानमा हुनेछ ।

धरानका ८ वटा स्कुल रामधुनीबाट ४ वराहक्षेत्रबाट ४ गरी १६ वटा स्कुल बिचको खेल वराहक्षेत्र नगरपालिकाको भलुवाचौरी खेलमैदानमा हुनेछ । प्रारम्भिक खेलहरू नकआउटको आधारमा हुनेछन् । नकआउटका विजेता टिमहरू धरानमा हुने दोस्रो चरणको लिग खेलका लागि छनौट हुनेछन् ।

एन्फा केन्द्रीय मानार्थ उपाध्यक्ष तथा कोसी प्रदेश खेलकुद सङ्घका अध्यक्ष किशोर राईले पत्रकार सम्मेलनमा भने ‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्न अन्तर विद्यालय जिल्ला स्तरीय लिग फुटबल सुरु गरिएको हो ।’

उनका अनुसार १६/१७ वर्षको किशोर अवस्थाका केटाकेटीहरू दुव्र्यशनी जस्ता कुलतमा फसेर गलत बाटोमा जाने भएकाले सही मार्गदर्शन, प्रोत्साहन प्रदान गर्न पनि प्रतियोगिता सुरु गरिएको हो । मानार्थ उपाध्यक्ष राईले ग्रसरुटबाटै खेलाडीहरू उत्पादनमा गर्नुपर्दछ भनेर प्याब्सन र एन्फा सुनसरीले खेल विकासमा ठुलो टेवा पुर्‍याएको बताए ।

एन्फा सुनसरी अध्यक्ष नवीन राईले खेलकुद जीवनको अभिन्न अङ्ग हो भन्ने कुरा विद्यालय स्तर देखि नै विद्यार्थीहरूलाई बुझाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए ।

प्रतियोगितामा प्रथम पुरस्कार २० हजार दोस्रो १५ हजार तेस्रो १० हजार चौथो पुरस्कार ६ हजार रहेको छ । व्यक्तिगत विधा तर्फ उत्कृष्ट गोलकिपर २ हजार, उत्कृष्ट, डिफेन्स २ हजार, उत्कृष्ट, मिड फिल्डर, २ हजार, उत्कृष्ट फरवार्ड २ हजार, उत्कृष्ट, प्रशिक्षक २ हजार, सर्वाधिक गोलकर्ता ३ हजार र प्रतियोगिता अवधिभरको उत्कृष्ट खेलाडी नगद ५ हजार प्रदान गरिने छ ।

प्रतियोगिताको पहिलो चरणका खेलहरू नकआउट खेलमा सहभागी विद्यालयहरूमा नमुना सामुदायिक सेकेन्डरी स्कुल, झुम्का, पिङ्क लोटस इङ्लिस बोर्डिङ स्कुल, झुम्का, पारिजात पब्लिक स्कुल, इनरुवा, इनरुवा बोर्डिङ इङ्लिस स्कुल, इनरुवा, सूर्य किरण एकेडेमी, इनरुवा, नवयुग एकेडेमी, इनरुवा छन् ।

यस्तै हिम शिखर इङ्लिस स्कुल, इनरुवा, मेरिल्यान्ड इङ्लिस स्कुल, धरान, डिपो सेकेन्डरी स्कुल, धरान, सिद्धार्थ मेमोरियल इङ्लिस स्कुल, कालाबन्जर, मुन बिम एकेडेमी स्कुल, कालावन्जर, प्रभात सेकेन्डरी इङ्लिस स्कुल, धरान छन् ।

यस्तै बराह राईजिङ्ग स्टार इङ्लिस स्कुल, वयरवन, पञ्चायत विद्या मन्दिर इङ्लिस स्कुल रामधुनी, युनिक सगरमाथा इङ्लिस स्कुल, रामधुनी, भरौल बाल मन्दिर इङ्लिस स्कुल, भरौल, शिक्षा सन्देश सेकेन्डरी बोर्डिङ स्कुल, पानमारी, माउन्ट हर्मन एकेडेमी, धरान, महेन्द्र मेमोरियल एकेडेमी, दुहबी, पशुपति इङ्लिस बोर्डिङ स्कुल, इटहरी रहेका छन् ।

यस्तै थर्ड आई पब्लिक स्कुल, दुहबी, सेन्ट जेसिफ इङ्लिस वोर्डिङ्ग स्कुल, धरान, होलील्याण्ड इङ्लिस स्कुल, धरान, नेपाल डीभिएम ग्लोबल एकेडेमी स्कुल, इटहरी, सुनसरी क्रिष्टल एकेडेमी स्कुल, इटहरी, खनार सनसाइन इङ्लिस स्कुल, खनार, गोदावरी विद्या मन्दिर, इटहरी छन् ।

यस्तै इष्ट वेस्ट पोइन्ट स्कुल, इटहरी, नर्थ पोइन्ट सेकेन्डरी बोर्डिङ स्कुल, शिखर एकेडेमी, इटहरी, विजयपुर बोर्डिङ स्कुल, धरान रहेका छन् ।