धरान : भारतको मणिपुर राज्यमा पुनः हिंसा भड्किएको छ ।

गत जुलाई महिनादेखि बेपत्ता दुई जना छात्राको मृत्यु भएको पुष्टि भएपछि मणिपुरको राजधानी इम्फालमा बुधवार रातिदेखि फेरि विरोध प्रदर्शन, तोडफोड र आगजनी भएको छ ।

आक्रोशित भीडले इम्फालका एक नेताको घरमा तोडफोडको कोसिस गरेको, प्रहरीको गाडी चलाएको र एक प्रहरीलाई कुटपिट गर्दै हतियार खोसेको मणिपुर प्रहरीले जनाएको छ । स्थिति नियन्त्रणका लागि कोम्बिङ अप्रेसन सुरु गर्न लागिएको पनि प्रहरीले जनाएको छ ।

स्थिति थप भड्किन नदिन इम्फालमा कर्फ्यु लगाइएको छ । यसअघि गत मे महिनामा मणिपुरमा जातीय हिंसा भड्किएपछि कर्फ्यु लगाइएको थियो । तर तनाव मत्थर हुँदै गएपछि कर्फ्यु खुकुलो पारिएको थियो । बुधवार रातिदेखि पुनः पूर्ण रुपमा कर्फ्यु लगाइएको भारतीय मिडियाहरूले जनाएका छन् ।

मैतेई र कुकी समुदायबिच झडपले मणिपुरमा हिंसाको रूप लिँदा १८१ जनाको मृत्यु भइसकेको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन्।