झापा : झापाको दमक-१ कुमाल चोकस्थित एक होटेलमा चार दिन अघि एक युवकलाई छुरा प्रहार गरी हत्या गरेको घटनाका मुख्य अभियुक्तसहित ११ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

चुलाचुली-३ का ३८ वर्षीय गोविन्द लिम्बुको हत्यापछि प्रहरीले यसअघि अनुसन्धानका लागि ८ जनालाई नियन्त्रणमा लिए पनि मुख्य आरोपी दमक-७ सयपत्री टोलका २२ वर्षीय सनम राईसहित अन्य सन्दिग्धहरू फरार थिए ।

सोमबार दिउँसो प्रहरीले मोरङको उर्लाबारी-१ टपुस्थित एक घरमा मोटरसाइकल सहित लुकेर बसेका मुख्य आरोपी सहित घटनामा संलग्न अन्य दुई जनालाई पनि पक्राउ गर्न सफल भएको हो ।

इलाका प्रहरी कार्यालय दमकमा आज पत्रकार सम्मेलन गरी झापाका जिल्ला प्रहरी प्रवक्ता डिएसपी खगेन्द्रप्रसाद रिजालले घटनामा संलग्न मुख्य आरोपी सनमसहित दमक-१ स्थित नवदुर्गा टोलका आनन्द भनिने २२ वर्षीय राजकुमार भुजेल र दमक-७ राधाकृष्ण टोलका १८ वर्षीय रोहन भनिने सवास आलमलाई पक्राउ गरिएको जानकारी दिए ।

मुख्य आरोपी राई, भुजेल र आलमलाई पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिएको हो । मुख्य आरोपी राई, भुजेल र आलमलाई पीडितको स्थायी ठेगाना इलाम चुलाचुली गाउँपालिकाका अध्यक्ष राजेन्द्र केरुङ समेतको उपस्थितिमा पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिएको हो ।

उनीहरूले प्रारम्भिक चरणमा दिएको बयान अनुसार राईसहित तीन जनाको समूहले मदिराले लट्ठ भएको अवस्थामा आपसी विवादका कारण लिम्बुको हत्या गरेको स्वीकार गरिसकेका प्रहरीको भनाई छ ।

इलाका प्रहरी कार्यालय दमकका डिएसपी मनोजकुमार लामाले हत्याको घटनामा प्रयोग भएको छुरा ९हतियार० विराटनगरमा रहेको प्रारम्भिक बयानबाट खुलेपछि सो हतियार समेत प्रहरीसँगको समन्वयमा प्रहरीले बरामद गरी दमकमा ल्याउने प्रक्रिया चलिरहेको जानकारी दिए ।

दमकमा १२ असोजको बिहान ४ बजेको समयमा सो घटना गराएर फरार भएका मुख्य अभियुक्तहरूलाई इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक डम्बर विश्वकर्माको कमाण्ड, कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी नायव निरीक्षक रुद्र खड्काको कमाण्ड र जिल्ला प्रहरी कार्यालय झापाको संयुक्त टोलीले खोजी तथा अनुसन्धान गरी फेला पार्न सफल भएको जनाइएको छ ।

यसअघि प्रहरीले सो घटनापछि अनुसन्धानका लागि घटनास्थल रुवेल माछा फ्राइका सञ्चालक विशाल कुमालसहित ८ जनालाई पक्राउ गरेको थियो ।