धरान : आगामी शुक्रवारबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘परदेशी २’ मा अभिनेता प्रशान्त तामाङ ‘क्यामियो रोल’मा देखिने भएका छन् ।

धरानमा आयोजित पत्रकार सम्मेलनमा फिल्मका निर्माता राजेश वंशलले 'परदेशी २' मा नव नायक प्रकाश सपुत मुख्य भूमिकामा रहने र प्रशान्त तामाङको ‘क्यामियो रोल’ रहेको बताएका हुन् ।

‘फिल्ममा प्रकाश र वर्षा मुख्य भूमिकामा छन्। फिल्मको कथा धन कमाउन अमेरिका पलायन भएको  प्रकाशको पात्रको वरिपरि घुमेको छ,’ उनले भने, ‘प्रशान्त गेस्ट अपेरियन्समा छन् । उनी बिदामा घर फर्किएको लाहुरेको भूमिकामा छन् ।’

यसअघि आएका फिल्म ‘गोर्खा पल्टन’ र ‘परदेशी’ मा प्रशान्त तामाङ मुख्य भूमिकामा थिए । दुवै फिल्म नेपाली बक्स अफिसमा हिट भएका थिए । तर क्यामियो रोलमा रहेका प्रशान्तको यो फिल्मले बक्स अफिसमा कस्तो व्यापार गर्ला ? त्यो हेर्न रोचक हुनेछ। किनभने, ‘परदेशी २’ रिलिज भएको एक सातापछि बहुप्रतिक्षित फिल्म ‘भष्मे डन’ रिलिज हुँदैछ । यसले परदेशी २ लाई बक्स अफिसमा चुनौती दिने सम्भावना छ । तर फिल्म बक्स अफिसमा सफल हुनेमा निर्माता ढुक्क छन् ।

घटस्थापनाको दुई दिनअघि रिलिज हुन लागेको फिल्म परदेशी २ मा न्युयोर्क पुगेका फिल्मका मुख्य पात्र (प्रकाश सपुत ) को सङ्घर्ष, वृद्ध बुवा आमाको आशा र बाटो हेर्दै बसेकी मायालुको भावनालाई समेटिएको निर्माता वंशलले बताए ।

नारायण रायमाझीले निर्देशन गरेको फिल्मको कथा-पटकथा रमेश बिजीले लेखेका हुन् । फिल्ममा प्रकाश सपुत, केकी अधिकारी, वर्षा सिवाकोटी, दिलीप रायमाझी र प्रशान्त तामाङ, नीर शाह, रमा थपलिया, सबिन बास्तोला, देवेन्द्र बब्लु, रोशनी कार्की लगायतको अभिनय छ ।

pardesi-Kapuri--2