धरान : इजरायल-हमास युद्धको सन्दर्भमा इजरायल पुगेका अमेरिकी राष्ट्रपति जो वाइडनले स्वदेश फर्किएपछि हमासको तुलना रुसका राष्ट्रपति व्लादिमिर पुटिनसँग गरेका छन् । बिबिसीको एक समाचार अनुसार टेलिभिजनमा अमेरिकी जनतालाई सम्बोधन गर्दै राष्ट्रपति वाइडनले भने ‘हमास र पुटिन अलग अलग किसिमको खतरा हो तर उनीहरू दुवैमा एउटा कुराको समानता छ, दुवै छिमेकी देशको लोकतन्त्र समाप्त गर्न चाहन्छन् ।’

हमास-इजरायल र रुस-युक्रेन दुवै युद्ध धेरै टाढाटाढा भैरहेपनि यी दुवै युद्धको समानताको के मतलब भन्ने पनि प्रश्न उठ्न सक्ने बताउँदै राष्ट्रपति वाइडेनले भने इजरायल र युक्रेन सफल हुनु अमेरिकी राष्ट्रिय सुरक्षाको लागि अत्यन्तै जरुरी छ।‘

यदि पुटिनलाई शक्तिको दम्भ देखाउने लालसाबाट रोक्न सकिएन भने युक्रेन मात्र कब्जा गरेर नरोकिने भएकाले आउने दशकको सम्भावनाका बारेमा अहिले नै फैसला लियौँ भने त्यसले भविष्य निश्चित गर्ने राष्ट्रपति वाइडेनको भनाई छ ।

उनले इजरायल भ्रमणको क्रममा हमासको आक्रमणबाट पीडितहरूसँग पनि भेटघाट गरेका थिए । इजरायल-हमास युद्धमा दुवैतर्फ भएको मानवियय क्षतिबाट पीडित परिवारहरूप्रति उनले समवेदना प्रकट गरे । राष्ट्रपति वाइडनले भने ‘राष्ट्रपतिको हैसियतमा मेरो लागि हमासले बन्धक बनाएका अमेरिकीहरूको सुरक्षा भन्दा ठुलो कुनै कुरा हुन सक्दैन ।’

इजरायल-हमास युद्धले मध्यपूर्वको शान्तिमा पर्ने असर र अमेरिकाका सहयोगीहरूका बारेमा उनले भने ‘मध्यपूर्वका सुनिश्चित भविष्क्ष्यको लागि काम गरिरहेका छौँ ।’ राष्ट्रपति वाइडनले युक्रेन र इजरायललाई सहयोग नगर्नु न्यायको पक्षमा नहुने बताउँदै भने ‘अमेरिका पहिले पनि दुनियाँका लागि प्रकाश स्तम्भ थियो र भविष्यमा पनि रहने छ ।’