काठमाडौँ : गैर आवासीय नेपाली सङ्घको बैठकमै भूकम्प पीडितको लागि एक करोडभन्दा बढी सहयोग जुटेको छ । सबैभन्दा बढी पूर्व अध्यक्ष तथा प्रमुख संरक्षक शेष घलेले ५० लाख सहयोग घोषणा गरेका छन् ।

घले प्रमुख अतिथि र कुँवरको अध्यक्षतामा भर्चुअल माध्यमबाट बसेको बैठकमा सङ्घका अन्तर्राष्ट्रिय समन्वय परिषद् अध्यक्ष विनोद कुँवरले १० लाख सहयोग घोषणा गरेका छन् भने विश्वका विभिन्न देशमा रहेका ३६ जना तथा एनसीसीले सहयोग घोषणा गरेका छन् ।

आइसीसी, एनसीसी र सल्लाहकारको संयुक्त बैठकले सङ्घले संरक्षक डा. घलेको नेतृत्वमा भूकम्प प्रभावित क्षेत्रमा तत्कालीन र दीर्घकालीन परियोजना सञ्चालन गर्ने निर्णय गरेको छ । आपत्तकालिन अवस्थामा सहयोग गर्न ‘ग्लोबल एनआरएनए फाउण्डेसन’ को खातामा रकम जम्मा गर्न सबै गैर आवासीय नेपालीलाई सहयोगको लागि आह्वान गर्ने निर्णय समेत बैठकले गरेको छ ।

बैठकले सङ्घको प्रभु बैङ्क टंगाल शाखामा रहेको ग्लोबल एनआरएनए फाउण्डेसनको खाता नं. १३६०१५३३०६५०००१४ मा सहयोग रकम जम्मा गर्न आग्रह समेत गरेको छ ।

बैठकले सङ्घको ११ औँ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशन आगामी मार्च १६ र १७ मा काठमाडौँमा गर्ने निर्णय पनि गरेको छ । यसअघि मार्च २ र ३ मा गर्ने भनिएको महाधिवेशन भूकम्प पीडितको लागि राहत सङ्कलनमा जुट्नु पर्ने भएका कारण केही दिन पछि सारिएको हो ।

सङ्घको ग्लोबल फाउण्डेन र एमआईटी फाण्डेसनको पहलमा विभिन्न देशमा रहेका एनसीसी र व्यक्तिगत रूपमा पनि सहयोग अभियान जारी रहेको छ । सङ्घका अध्यक्ष कुँवरले यसअघि पनि भूकम्प पीडितले प्रत्यक्ष सहयोग महसुस हुने गरी सहयोग प्रदान गर्ने बताउँदै विश्वभर रहेका गैर आवासीय नेपालीहरूलाई सहयोगको लागि अपिल गरेका थिए ।