धरान : खुल्ला दौडमा सहभागी विजेताहरूले तोकिएका रुट हुँदै अन्तिम विन्दु पुग्न तय गरेको समय ‘एक्युरेट’ पारदर्शी बनाउन 'धरान १० के रन'ले यसपालि जुत्ताको लेसमा टाइमिङ चिप सिस्टम राख्ने भएको छ। १० किलोमिटर लामो खुल्ला दोड प्रतियोगिताको १२ औँ संस्करण आगामी फागुन १२ गते हुँदै छ । प्रतियोगिताको पूर्व तयारका बारेमा जानकारी दिन आज बुधवार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष रामु राईले उक्त जानकारी दिएका हुन ।

यसअघि 'धरान १० के' रनको ११ औँ प्रतियोगितामा छातीमा टाइमिङ चिप सिस्टम टाँसिएको थियो । अध्यक्ष राईले भने ‘खुट्टामा प्रयोग गर्दा सही टाइम दिने भएकाले यो वर्ष जुत्ताको लेसमा बाँधेर टाइमिङ सिस्टमको चिप प्रयोग हुने भएको छ ।’

प्रतियोगितामा राष्ट्रिय, अन्तर्राष्ट्रिय प्रतियोगितामा म्याराथनको रेकर्ड कायम गरेका धावक, धाविकाहरू समेत प्रतियोगी हुँदै आएकोले दौडको रेकर्डलाई 'एक्युरेट' बनाउने प्रविधि आयोजक धरान रनले अपनाउँदै आएको छ ।

अध्यक्ष राईका अनुसार यसपालि प्रतियोगितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय धावक धाविकाहरू सहित ३ हजारको सङ्ख्यामा सहभागीहरू दौडने अनुमान गरिएको छ । उनका अनुसार अघिल्लो ११औ संस्करण देखि रुट परिवर्तन भएको छ ।

खुल्ला दौडको नयाँ रुट पुतली लाइनबाट सुरु भई देशीलाइन-पुरानो बजार-पिण्डेश्वर मन्दिर-विजयपुर चौक-हात्तीसार क्याम्पस-रेडक्रस भवन-अमरहाट। कर्भड हल-जिरो पोइन्ट-जानकी चोक-धरान रङ्गशाला, गणेशमान चौक-पानीटंकी-कल्याण चौक-मङ्गलबारे-रत्न चोक-बुद्ध चौक-दुर्गा चोक हुँदै अन्तिम विन्दु पुतली लाइन हुनेछ ।

नयाँ रुट धरानमा लागु गरिएको ‘वान-वे’ प्रणालीको समर्थनमा निर्धारण गरिएको अध्यक्ष राईले बताए । बिहान साढे ७ बजे देखी हुने दौडको समापन भानुचौकमा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम हुनेछ ।

प्रतियोगितामा १२ वर्षमुनिका बालबालिकालाई ३ किमी दौडाइने छ । १२ वर्ष मुनिका बालबालिकाको दर्ता शुल्क ४ सय, अन्य समूहको मङ्सिर २१ गते सम्म ४ सय, माघ २९ सम्म ५ सय र सो भन्दा पछि फागुन ५ गते सम्म दर्ता गर्दा ७ सय शुल्क निर्धारण गरिएको छ । फागुन ६ गते दर्ता प्रक्रिया पूर्ण रूपमा बन्द हुनेछ ।

प्रतियोगितामा खुल्ला तर्फ महिला तथा पुरुषले प्रथम, द्वितीय र तृतीयले क्रमशः ६० हजार, ४० हजार, ३० हजार रुपैयाँ प्राप्त गर्नेछन् । १२ वर्षमुनिका र १२ देखि १५ बर्षसम्मकाले क्रमशः ७ हजार, ५ हजार र ३ हजार प्राप्त गर्नेछन् ।

प्रतियोगितामा धरानका स्थानिय धावक धावककालाई प्रोत्साहन स्वरूप आकर्षक पुरस्कार दिइने छ । सोही अवसरमा ह्वेल चियर रेस पनि गराइने छ । सहभागी सबैलाई टिसर्ट उपलब्ध गराइने तथा दौड पुरा गर्नेहरूलाई प्रमाणपत्र र मेडल प्रदान गरिने छ ।

प्रतियोगिताबाट खर्च कटाएर बचेको रकम धरान रन समूहको नेवा एजुकेसन फण्डमा जम्मा गरिने अध्यक्ष राईले बताए । नेवा एजुकेसन फण्डले सामुदायिक विद्यालयका १२ जना जेहेन्दार विद्यार्थीलाई नियमित छात्रवृत्ति प्रदान गर्दै आएको छ । २०६९ सालमा प्रथम नेवा: च्यारेटी ८ के-रन हुँदै यसपालि १२ औँ नेवा च्यारेटी १० के-रन हुने भएको हो ।