धरान : विष्णु मेमोरियल माविका विद्यार्थीहरूलाई लागुऔषध दुर्व्यसनबारे सचेतना गराउँदै धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले कसैले लागुऔषध प्रयोग, ओसार पसार गरेको थाहा पाए प्रहरीलाई जानकारी दिन आग्रह गरेका छन् ।
धरान-९ स्थित स्कुल परिसरमा विद्यालयद्वारा आयोजित लागुऔषध दुर्व्यसन सचेतना कार्यक्रमका प्रमुख अतिथि मेयर साम्पाङले विद्यार्थीहरूलाई ‘कतै कसैले सो प्रयोग गरेको वा ओसारपसार गरेकोबारे केही जानकारी हुने बित्तिकै प्रहरीलाई जानकारी गराउन’ आग्रह गरेका हुन ।
सचेतना कार्यक्रममा स्कुलका ३ सय बढी विद्यार्थी सहभागी थिए । उनीहरूलाई लागुऔषध दुर्व्यसनले पुर्याउने व्यक्ति, परिवार र समाजलाई पुर्याउने क्षतिका विषयमा मेयर साम्पाङका साथै आसरा सुधार केन्द्रका प्रमुख प्रहरी निरीक्षक जसबहादुर लिम्बू, मनोसामाजिक परामर्शदाता टिकाराम सिग्देलले सचेतना गराएका थिए ।
स्वागत मन्तव्यमा प्रिन्सिपल निलमकुमार श्रेष्ठले विद्यार्थीलाई किताबी ज्ञानबाहेक अन्य अतिरिक्त क्रियाकलापमा पनि सक्दो जोड दिएको बताए ।
संस्थापक निर्देशक वेनिन्द्र कटुवालले मेयर साम्पाङलाई मायाको चिनो तथा स्कुलको मुखपत्र ‘विष्णु दर्पण’ हस्तान्तरण गरे ।कार्यक्रमको सञ्चालन शिक्षक हेमन्तमणि दाहालले गरेका थिए । कार्यक्रममा प्लस टु कोअर्डिनेटर नवीन शाक्य, अतिरिक्त क्रियाकलाप संयोजक शम्भु रेग्मी लगायत शिक्षकहरूको उपस्थिति थियो ।


































































