धरान : विष्णु मेमोरियल माध्यमिक विद्यालयले विद्यार्थीहरूलाई उनीहरू माथि आइपर्ने शारीरिक आक्रमणको सामना गर्दै आत्मरक्षाका लागि अपनाउनु पर्ने सिप, कला प्रदान गरेको छ ।

पछिल्लो समय बढेको बालिकाहरूसँग हुने दुर्व्यवहारका घट्नाको सामना गर्न छात्राहरूलाई सशक्तीकरण, आत्मबल प्रदान गर्न आत्मरक्षाको तालिम प्रदान गरिएको हो ।

विद्यालयको शैक्षिक क्यालेण्डर अनुसार शुक्रवार कक्षा ८ देखि १२ सम्म अध्ययनरत २५० भन्दा बढी छात्राहरूलाई आत्मरक्षाका तालिम दिइएको विद्यालयले जनाएको छ ।

तालिममा सहभागी छात्राहरूलाई आपतकालिन र अप्रत्याशित अवस्थामा आफ्नो जीउ ज्यानको सुरक्षा कसरी गर्ने भन्ने बारे व्यवहारिक रूपमा आवश्यक ज्ञान सीप प्रदान गरिएको हो ।

प्रधानाध्यापक निलमकुमार श्रेष्ठका अनुसार आत्मरक्षा तालिम मार्फत छात्राहरूलाई मानसिक, बौद्धिक र शारीरिक रूपमा बलियो बन्न, आत्मविश्वास वृद्धि गरी पठनपाठनमा उत्साह बढाउन योगदान गर्नेछ ।

साथै समाजमा बालिका विरुद्ध हुने अपराधका घटना बढ्दै गएकाले उनीहरूलाई  सुरक्षित बनाउन सुरक्षाको प्रत्याभूति गराउन विद्यालयले आत्मरक्षा तालिम प्रदान गरेको उनले बताए ।

आत्मरक्षा तालिमको बाह्य प्रमुख प्रशिक्षक सुबीक्षा राई, सहायक प्रशिक्षक विद्यालयका तेक्वान्दो र कराँते प्रशिक्षकहरू सुलभ श्रेष्ठ र सन्तोष राई रहेका थिए ।

self-defence