धरान : विद्यालयीय शिक्षा बाहेक विद्यार्थीलाई नेपाली समाज, संस्कृति बुझाउन विष्णु मेमोरियल स्कुलले अतिरिक्त क्रियाकलापलाई उदाहरणीय रूपमा उपयोग गरेको छ ।

अङ्ग्रेजी माध्यममा पठनपाठन हुने विष्णुले विद्यालयका कक्षा ८, ९ र १० का विद्यार्थीहरूलाई दुई दिने दुना-टपरी बनाउने प्रशिक्षण सञ्चालन गरेको हो ।

नेपाली समाजमा सामूहिक कार्यहरूमा प्रयोग गरिदैं आएको परम्परागत दुना टपरीको चलन हराउँदै गएको छ ।

नेपाली संस्कारगत संस्कृतिमा जनस्वास्थ्यका दृष्टिले स्वास्थ्यकर मानिएको दुना टपरी बदलिँदो सुविधा भोगी जीवन शैलीका कारण विस्थापित भएको छ।

धार्मिक कार्यमा भने प्रायः अनिवार्य मानिँदै आएको दुना, टपरीको महत्त्व बुझाउँदै स्कुलले प्रशिक्षण आयोजना गरेको हो ।

शुक्रवार र शनिवार भएको तालिममा ५० भन्दा बढी छात्र छात्रा स्वेच्छाले सहभागी भएको विद्यालयले जनाएको छ । तालिम विष्णु मेमोरियल युवा रेडक्रस सर्कलको आयोजनामा भएको हो ।

यस प्रकारको तालिमले परम्परागत सीपको विकास तथा संवर्द्धनमा समेत टेवा पुग्ने विश्वास गरिएको छ ।

तालिममा प्रमुख प्रशिक्षक विजयपुरकी उषा कुमारी गुरागाईँ थिइन् । साथमा स्कुलका शिक्षिकाहरू ज्योत्स्ना लिम्बु, जुनी थापामगर र मञ्जु सुबेदीले विद्यार्थीहरूलाई दुना-टपरी बनाउन सिकाउँदै त्यसको महत्वका बारेमा कक्षा लिएका थिए ।

तालिम समापन कार्यक्रममा अभिभावक भेषराज घिमिरेले विद्यालयले परम्परागत दुना-टपरी बनाउनु सीपमूलक तालिम भएको बताउँदै भने ‘यो जीवनोपयोगी शिक्षा र सीप हो।’

bishnu-school-duna-tapair