• राधाकृष्ण देउजा

नेपालको आन्तरिक शान्ति सुरक्षाको प्रमुख जिम्मेवारी नेपाल प्रहरीको काँधमा छ । अन्यत्रको तुलनामा अत्यन्त न्यून सेवा सुविधाका बाबजुद नेपाल प्रहरीमा कार्यरत अधिकृतदेखि सकल दर्जा समेत ज्यानको बाजी राखेर देश र जनताको सेवामा हरेक प्रहर डटिरहेकै हुन्छन् । सिद्धान्त तः प्रहरीको प्राथमिक दायित्व भनेको समाजमा शान्ति र अमन चैन कायम गर्ने हो । तर हाम्रो देशमा चाहिँ हरेक समस्याको प्राथमिक जवाफ नै प्रहरी हुने गरेको छ ।

भूकम्प गयो उद्धार गर्न प्रहरी । बाढी पहिरो गयो त्यहाँ जनता जोगाउन प्रहरी । विमान दुर्घटना पर्‍यो अनि उद्धार असम्भव भयो तब त्यहाँ प्रहरी । हुँदाहुँदा महामारीमा मान्छे अस्पताल जान सकेनन् अनि कसैले लान सकेन तब त्यस बेला आफ्नो ज्यान जोखिममा पारेर मानिसलाई अस्पताल पुराउने प्रहरी ।

यो हिसाबले हेर्दा मानिसको आस्था र विश्वासको पहिलो आधार हो प्रहरी । अनि उनीहरूको भूमिकालाई हेर्दा सबैभन्दा सम्मानित हुनुपर्ने हो प्रहरी । तर त्यस्तो छ त ? बिलकुल छैन ।

अप्ठेरोमा पर्दा सबैभन्दा चाहिने त्यही प्रहरी अक्सर मानिसहरूको रिस आक्रोश र पिडा पोख्ने सजिलो माध्यम बनेको छ । अस्पतालसँग रिस उठ्यो निशानामा त्यही प्रहरी । सरकारसँग रिस उठ्यो निशानामा त्यही प्रहरी । अब हुँदाहुँदै न्यायालय र अदालतसँग रिस उठ्यो तब निशानामा त्यही प्रहरी । 

हो, मानिसको जिउ ज्यान अनि सार्वजनिकदेखि निजी धन सुरक्षाको आफ्नो दायित्व सम्झन्छ र त्यहाँ खटिन्छ प्रहरी । न प्रहरी कोही कसैलाई कुटौँला, पिटौँला भनेर कतै जान्छ ।  न त अन्य हिसाबको दमन तर परिस्थितिको आवश्यकतालाई हेरेर आवश्यकता पर्दा कानुन बमोजिमको आदेश बमोजिम बल प्रयोग पनि गर्न उ बाध्य हुन्छ ।

तर कुनै हालतमा उसले दमनलाई स्थिति नियन्त्रणको प्रथम उपाय बनाएको हुँदैन । त्यसैले हो त अक्सर झडपहरूमा प्रहरी नै बरु घाइते भएको पाइन्छ । हो, उनीहरू आफ्नो पिडा पोख्न फेसबुक लाइभ गर्दैनन्, टिकटक र युट्युब भिडिओ बनाउँदैनन् । न त प्रहरी माथि आक्रमण भयो र उनीहरू घाइते भए भने त्यसो हुनुपनि अपराध भयो भनेर कोही बोल्छ ।

उनीहरूको त पक्षमा बोलिदिने उनीहरूको दल वा समूहका नेता हुन्छन् । सार्वजनिक खपतदेखि अरू स्वार्थले त्यस्ता जत्थाको पक्षमा सांसददेखि मिडिया सम्म आवाज बुलन्द हुन्छ । तर बिचरा प्रहरीको बोलिदिने को ? कोही हुँदैनन् ।

अरू त अरू उनीहरूकै कमान्डर आइजिपी, उनीहरूको प्रशासनिक नेतृत्व गर्ने सचिवदेखि गृहमन्त्री सम्मले आफ्नो ड्युटी गर्दा गर्दै घाइते प्रहरीलाई, के कसो छ भनेर चासो नै राख्छन् । उल्टै तिनलाई आक्रमण गर्नेहरूसँग वार्ता र छलफल गर्ने मात्रै नभएर प्रहरीलाई आक्रमण गर्नेहरू वा तिनीहरूको प्रतिनिधिको कुरा सुनेर कर्तव्य पालन गर्दागर्दै घाइते प्रहरीहरूको कमजोरी खोज्ने र तिनलाई कारबाही गर्ने गर्छन् ।

नहोस् पनि त किन ? आखिर प्रहरीले पो सक्दैन त । तर प्रहरीमाथि आक्रमण गर्ने अराजकहरू त अक्सर कुनै दल समूह वा  शक्तिसँग जोडिएका नै हुन्छन् । उनीहरू त अक्सर सर्व सुविधाले भरिपूर्ण हुन्छन् । टिकटक, युट्युब, फेसबुकदेखि सारा अन्य मिडियामा आफ्नो रोदन प्रकट गर्न उनीहरू स्वतन्त्र हुन्छन् । उनीहरूको त पक्षमा बोलिदिने उनीहरूको दल वा समूहका नेता हुन्छन् । सार्वजनिक खपतदेखि अरू स्वार्थले त्यस्ता जत्थाको पक्षमा सांसददेखि मिडिया सम्म आवाज बुलन्द हुन्छ । तर बिचरा प्रहरीको बोलिदिने को ? कोही हुँदैनन् ।

उनीहरू त बरु बाध्य हुन्छन्, आफ्नो नेतृत्व गर्नुपर्नेहरूले आफूहरूलाई आक्रमण गर्नेहरूलाईसँगै राखेर उल्टो आफूहरू प्रहरीहरूलाई नै कारबाही गरिने फत्तुर लगाएको हेर्न र सुन्न मात्र सक्छन् । आज दुःखका साथ लेख्नुपर्ने अवस्था बनेको छ कि, माथि उल्लेखित विडम्बनापूर्ण दृश्य हेर्दै, आफ्नो बल्झिरहेको घाउमा मलम लगाउँदै, आँखामा आँसु पारेर मनमनै ‘प्रहरीको चमेली बोल्दिने कोही छैन’ भनेर गुनाउन विवश छन् हाम्रा प्रहरी ।

यो दुखद हो, हामी सबैको लागि धिक्कारको विषय हो । आशा छ पिडामा  छटपटाउन बाध्य प्रहरीको पिडाले हामीलाई पोलोस् अनि स्वार्थले बोल्न अक्सर डराउने हाम्रो मुखहरू कमसेकम हाम्रा रक्षकहरूको न्यायको लागि चाहिँ बोलोस्, बोल्नुपर्छ भन्ने मनमा ऊर्जा जागोस्...