वराहक्षेत्र : वराहक्षेत्र नगरपालिकाको कार्तिक १५ गते बसेको नगर कार्यपालिकाको बैठकले वडा नं.६ स्थित महेन्द्रगेटदेखि मुनाल चौकसम्मको सडकको दायाँ बायाँ नाला मिचेर बनेका संरचना हटाउने र मुनाल चौकदेखि चक्रघट्टि बसपार्कसम्मको सडकलाई कम्तीमा ६५ फिट कायम गर्ने सर्वसहमतिले निर्णय गरेको छ ।

निर्णय अनुसार नै नगरपालिकाले नाला मिचेर बनेका संरचना हटाउन कार्तिक २३ गते ३५ दिने सार्वजनिक सूचना जारी गरिसकेको नगर प्रमुख रमेश कार्कीले बताए ।

महेन्द्रगेटदेखि चक्रघट्टि बसपार्कसम्मको सडकलाई व्यवस्थित तथा सुन्दर बनाउने नगरपालिकाको योजना र सडक बिस्तार तथा सौन्दर्यीकरण गर्ने सङ्घीय सरकारको कार्यक्रम अनुसार नालालाई मिचेर बनेका संरचना हटाउन लागिएको कार्कीले बताए ।

सङ्घीय सरकारको नयाँ सहर बनाउने योजना अन्तर्गत वराहक्षेत्र नगरपालिका प्राथमिकता परेको र एक करोड बजेट समेत विनियोजन भएकाले महेन्द्रगेटदेखि मुनाल चौकसम्म साइकल लेन सहितको सुन्दर सडक बनाउने योजना सहित नाला मिचेर बनेका संरचना हटाउने निर्णय भएको उनले बताए ।

'महेन्द्रगेटदेखि मुनाल चौकसम्म करिब ९० प्रतिशत नाला ठिक छ, १० प्रतिशतले नाला मिचेर संरचना बनाएका छन् । त्यसमा एक दुई परिवारलाई समस्या हुन्छ । उहाँलाई हामीले व्यवस्थापन गर्न सहयोग गर्नेछौ । मुनाल चौकदेखि बसपार्कसम्म कम्तीमा ६५ फिट कायम गरिनेछ' नगर प्रमुख कार्कीले भने ।

प्राविधिकहरूले काम गरिरहेको तथा नगरपालिकामा दुई पटक सर्वदलीय सर्वपक्षीय छलफल समेत भइसकेकाले कसैलाई पनि तलमाथि नहुने गरी काम गरिने कार्कीको भनाइ छ ।

यस अगाडि पनि गत जेठमा नगर प्रमुख कार्कीले कार्यपालिकाबाटै निर्णय गराएर वडा नं. ५ कालाबञ्जरको हैटा खोलामा ४० वर्षदेखि अतिक्रमण गरेर बनेका संरचना समेत हटाएका थिए ।

तत्काल खोलालाई १६ फिट कायम गरी खोला भित्रका संरचना हटाउन एक्स्काभेटर नै प्रयोग गरेका नगर प्रमुख कार्कीले खोलाको आकार दिन सफल बनेका थिए ।

खोला अतिक्रमण गरी १६ फिट भित्र बनेका एक दर्जन भन्दा बढी घर र घरका बरन्डाहरू त्यस्तै  दर्जनको सङ्ख्यामा खोला भित्र परेमा रुख बिरुवाहरू हटाएका थिए ।