धरान : पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसमा राष्ट्रिय प्राविधिक महोत्सव आयोजना गर्ने तयारी थालिएको छ । क्याम्पसको ७ वटा फ्याकल्टी विद्यार्थी समाजको संयुक्त संस्था डेल्टाद्वारा आउँदो माघको पहिलो साता महोत्सव गरिने मङ्गलवार पत्रकार सम्मेलनमा जानकारी दिइएको हो।

यसपालिको प्राविधिक महोत्सव पाँचौँ संस्करण हो । डेल्टाले कलेजमा यस वर्ष डेल्टा ४.० ग्रीन टेक्नोलोजी (हरित प्रविधि) को थिम सार्वजनिक गरेको छ । यसपालि पनि डेल्टा ४.० ले महोत्सवमा ग्रीन टेक्नोलोजी प्रविधिलाई नै मुख्य विषयवस्तुको रूपमा प्रस्तुत गर्ने संयोजक कल्याण बाँस्कोटाले बताए ।

उनका अनुसार प्रविधि विषयहरूमा दिगो संरचना, नवीकरणीय ऊर्जा एकीकरण, फोहोरबाट ऊर्जा र ऊर्जा कुशल डिजाइन प्रदर्शन गरिने छ । उक्त प्रविधिहरू सहरीकरण हुँदै गएका क्षेत्रहरूका लागि उपयोगी हुने विश्वास गरिएको छ ।

महोत्सव आयोजनाको लागि डेल्टा तथा कलेज व्यवस्थापनले समेत तयारी गरिरहेको क्याम्पस प्रमुख  काजीराम कार्कीले बताए । उनले पत्रकार सम्मेलनमा डेल्टा ४.० को थिम रिलिज गरेका थिए ।

महोत्सवमा नेपालका विश्वविद्यालयहरू, कोशी प्रदेशका विद्यालयहरू साथै प्राविधिक शिक्षा हासिल गरेका विद्यार्थीहरूले पनि विधागत प्रतिस्पर्धामा सहभागिता जनाउने बताइएको छ । इन्जिनियरिङ क्याम्पस परिसरमा हुने महोत्सव ३ दिन चल्नेछ । करिब २० हजार दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ ।

फ्याकल्टी समाजको संयुक्त मञ्च डेल्टा विद्यार्थीहरूको प्रविधि शिक्षामुखी व्यवसायीक सहकार्य भएको बताइएको छ । सहकार्यबाटै डेल्टा ४.० निर्माण भएको भएको हो । डेल्टा कुनै पनि विद्यार्थी सङ्गठनसँग राजनीतिक रूपमा सम्बन्धित नभएको बताइएको छ। 

डेल्टा ४.० निर्माणमा संयोजक बाँस्कोटा, उप-संयोजक विवेक न्यौपाने, प्रमुख संवाददाता प्रशान्त काफ्ले, व्यापार संयोजक आशिष साह, वित्त संयोजक श्रीकृष्ण यादव, प्राविधिक संयोजक सिद्धान्त ठाकुर तथा प्रदर्शनी संयोजक शरण क्षेत्रीको टिम रहेको बताइएको छ । 

पत्रकार सम्मेलनमा सिभिल विभागका विभागीय प्रमुख भीषण भुजेल, स्वतन्त्र विद्यार्थी युनियन सभापति नवीन श्रेष्ठ लगायतको उपस्थिति थियो ।

DELTA-4.0-PR