धरान : कोशी प्रदेश फुटबल सङ्घ द्वारा प्रारम्भ गरिएको प्रथम यु-१५ एन्फा प्रेसिडेन्ट कप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा अल स्टार फुटबल क्लब धरानले विजय सुरुवात गरेको छ । अल स्टारले मोरङको विराट ट्रेनिङ सेन्टरलाई १-० गोलले पाखा लगाउँदै विजयी सुरुवात गरेको हो ।

धरान-१७ स्थित एन्फा एकेडेमीको फुटबल मैदानमा बुधवार देखी यु-१५ एन्फा प्रेसिडेन्ट कप सुरु  भएको हो ।

अल स्टारको लागि विष्णु सुनुवारले १ मात्र निर्णायक गोल गरेका थिए । निर्धारित ६० मिनेटको खेलमा सुनुवारले खेलका ३३ औ मिनेटमा गोल गरेका थिए । उनी उद्घाटन खेलको म्यान अफ दि म्याच घोषित भए । उनले १ हजार रुपया सहित एनि कम्पनीको जर्सीबाट पुरस्कृत भए ।

पुष ६ गते सम्म चल्ने प्रतियोगिताको बिहीबारको खेल धुर्वतारा स्पोटिङ क्लब झापा र न्यु स्टार क्लब सुनसरी बिच हुनेछ ।

प्रतियोगितामा कोशी प्रदेशका यु-१५ का १० टिमको सहभागिता रहेको छ । प्रतियोगिताको उद्घाटन कोशि प्रदेश सभा सदस्य ममता तामाङ योञ्जनले गरेकी थिइन् ।

under-15-anfa-gameउद्घाटन समारोहमा कोशी प्रदेश फुटबल सङ्घका अध्यक्ष किशोर राईले प्रदेश सङ्घ र जिल्ला सङ्घले क्यालेन्डर अनुसार चालु वर्षमा ४ वटा प्रतियोगिता गरिसकेको बताए ।

एन्फा मानार्थ उपाध्यक्ष समेत रहेका राईले सातै प्रदेशमा प्रतियोगिताको क्यालेन्डर एन्फा सँग भए पनि एन्फा कार्यसमितिले फुटबल गतिविधि गर्न समन्वय नगरेकोमा असन्तुष्टि व्यक्त गरे ।

उनले भने ‘सबै जिल्लाहरूमा प्रदेश लिग, जिल्ला लिगको कार्य तालिका नआउँदा फुटबल गतिविधि शून्य भएको छ ।’

प्रतियोगितामा कोशी प्रदेशबाट धरान फुटबल क्लब, राष्ट्रिय जागृति क्लब इटहरी, न्यु स्टार फुटबल क्लब वराहक्षेत्र, मोरङको उर्लाबारी नगरपालिका, मिल्स भेट्रान क्लब, विराट ट्रेनिङ सेन्टर, झापाको ध्रुवतारा स्पोर्टिङ क्लब, झापा नेशनल एकेडेमी र उदयपुरको गाईघाट फुटबल क्लब सहित १० टिम सहभागी छन् ।

यु-१५  प्रेसिडेण्ट कप फुटबलका विजेतालाई ५० हजार नगद र उपविजेतालाई २५ हजार नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ ।

प्रतियोगिताका उत्कृष्ट खेलाडीले ५ हजार रुपैयाँ र व्यक्तिगत विधातर्फ उत्कृष्ट खेलाडीले जनही २ हजार रुपैयाँ नगद प्राप्त गर्नेछन् । प्रत्येक दिनको खेलका म्यान अफ द म्याचलाई नगद १ हजार रुपैयाँ प्रदान गरिने छ ।