धरान : कार्यकारी निर्माता सत्यकला राई रहेकी नयाँ नेपाली कथानक चलचित्र ‘काँडेतार’ राष्ट्रिय भावना जगाउने कथामा आधारित फिल्म भएको फिल्मका निर्देशक तथा कलाकार नबल खड्काले बताएका छन् ।

धरानमा च्यारिटी सो गर्ने तयारीमा रहेको चलचित्रको टिमद्वारा बुधवार आयोजित पत्रकार सम्मेलनमा निर्देशक खड्काले ‘काँडेतार’ को मङ्सिर ३० गते धरानमा च्यारिटी सो गर्ने तयारी भइरहेको जानकारी दिए ।

उनका अनुसार पूर्वदेखि पश्चिम सम्म फिल्मको च्यारिटी सो सुरु गरिएको हो । खड्काले भने ‘वितरक, हल सञ्चालकसँगको सरसल्लाहमा नै हामीले च्यारिटी सो गरेका हौ ।’ च्यारिटी प्रदर्शन पछि फिल्म प्रदर्शनमा ल्याइने उनले बताए ।

‘काँडेतार’ले नेपाल-भारतको सिमानामा काँडेतार लगाउने विषयलाई उठान गरेको निर्देशक खड्काले बताए । उनले भने, ‘फिल्मको कथासार सिमानामा काँडेतार लगाउँदा मुलुकबिचका नागरिक र भूमिको संरक्षण मात्रै गर्दैन, असल छिमेकीसँगको सद्भाव पनि कायम हुन्छ भन्ने रहेको छ ।

मुलुकमा देशभक्तिको कथामा आधारित फिल्महरू रक्षात्मक स्थितिमा पुगेको बताउँदै खड्काले भने ‘बजारिया फिल्मको कारण व्यवसायीक परिस्थिति जटिल बनेको अवस्थामा पुगेको छ ।’ काँडेतार फिल्म मार्फत राष्ट्र, राष्ट्रियता र सार्वभौम सत्तालाई रक्षा गर्न चाहेको उनको भनाई छ ।

प्रदेश १ र २ का विभिन्न जिल्लामा ३५ दिन लगाएर छायाङ्कन गरिएको चलचित्रमा गौरव पहारी, रेविका गुरुङ, सुरविना कार्की, रवीन्द्र रञ्जन झा, मुरलीधर लगायतले शीर्ष भूमिकामा अभिनय गरेका छन् ।

शिव अधिकारी र नबल खड्काको लेखन रहेको फिल्मको कार्यकारी निर्माता सत्यकला राई हुन । नवलले यसअघि ‘दशगजा’, ‘भीमदत्त’ जस्ता देशभक्तिका कथामा आधारित चलचित्र बनाएका थिए । सामना फिल्मस् प्रालिको ब्यानरमा बनेको ‘काँडेतार’ फागुन २५ गते देखी सिनेमा हलहरूमा प्रदर्शन गरिने बताइएको छ ।