वराहक्षेत्र : वराहक्षेत्र नगरपालिकाले वडा नं.६ चक्रघट्टि स्थित महेन्द्र गेटदेखि मुनाल चौकसम्मको सडकमा नाला अतिक्रमण गरी बनाइएका संरचना हटाउन र मुनाल चौकदेखि बसपार्कसम्म सडकको ६५ फिट भित्र बनेका संरचना घर टहरा हटाउन आज शुक्रवार ७ दिने सार्वजनिक सूचना जारी गरेको छ।

गएको कार्तिक १५ गते बसेको नगर कार्यपालिकाको बैठकले वडा नं ६ स्थित उक्त सडकको नाला अतिक्रमण गरी बनाएका संरचना हटाउने र मुनाल चौकदेखि चक्रघट्टि बसपार्कसम्मको सडकलाई कम्तीमा ६५ फिट कायम गर्ने सर्वसहमतिले निर्णय गरेको छ ।

निर्णय अनुसार नै नगरपालिकाले नाला मिचेर बनेका संरचना हटाउन कार्तिक २३ गते पहिलो पटक ३५ दिने सार्वजनिक सूचना जारी गरेको थियो ।

महेन्द्र गेट देखि चक्रघट्टि बसपार्कसम्मको सडकलाई व्यवस्थित तथा सुन्दर बनाउने नगरपालिकाको योजना र सडक बिस्तार तथा सौन्दर्यीकरण गर्ने सङ्घीय सरकारको कार्यक्रम अनुसार नालालाई मिचेर बनेका संरचना हटाउन लागिएको नगर प्रमुख रमेश कार्कीले बताए । उनले भने 'कहीँ घरधनीहरूले नाला भित्र बनाएका संरचना हटाउन थालिसक्नू भएको छ, अन्य घरधनीले पनि नाला भित्र बनाएका र परेका संरचना हटाउनु हुनेछ ।

सङ्घीय सरकारको नयाँ सहर बनाउने योजना अन्तर्गत वराहक्षेत्र नगरपालिका प्राथमिकता परेको र एक करोड बजेट समेत विनियोजन भएकाले महेन्द्र गेटदेखि मुनाल चौकसम्म साइकल लेन सहितको सुन्दर सडक बनाउने योजना सहित नाला मिचेर बनेका संरचना हटाउने निर्णय भएको उनले बताए ।

Baraha-Notice-nala