धरान : यसपालि तेस्रो अशोक बास्फोर स्मृति अन्तर क्लब बास्केटबल प्रतियोगिता पुष ७ गते देखी हुने भएको छ । राष्ट्रिय क्लबहरूको सहभागितामा प्रत्येक २ वर्षमा आयोजना हुने बास्केटबल प्रतियोगिताले फुटबल खेलाडी पिताको स्मृतिमा बास्केटबल खेलाडी छोराको प्रयासमा निरन्तरता पाएको हो ।

आयोजक डायनामिक यूथ क्लबका अध्यक्ष रवि बास्फोर स्वर्गीय अशोक बास्फोरका छोरा हुन । अशोक बस्फोर धरानका एक चिरपरिचित फुटबल खेलाडी थिए । उनको २०६८ सालमा असामयिक निधन भएको थियो ।

उनै फुटबल खेलाडी पिताको स्मृतिमा बास्केटबल खेलाडी छोरा रवि बास्फोरले क्लबको आयोजनामा  २०७४ साल देखी ‘अशोक बास्फोर स्मृति बास्केटबल प्रतियोगिता’ सुरु गरेका हुन ।

आज बिहीबार बिहान कोइच क्याफे बुद्ध चौकमा पत्र कारहरूसँग उनले भने ‘बुवा फुटबल खेलाडी भए पनि मेरो क्यारियर भने बास्केटबलमा अघि बढेकोले उहाँको नाममा बास्केटबल प्रतियोगिता गर्न सहज भएको हो ।’

डाइनामिक यूथ क्लब, धरान-१८ बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान परिसर भित्रका युवाहरूले २०७१ सालमा स्थापना गरेका हुन । क्लबद्वारा आयोजना गरिने प्रतियोगितामा बास्केटबलका राष्ट्रिय क्लबहरू सहभागी हुँदै आएका छन् ।

यसपालि प्रतियोगितामा मिराकल, इमोर्टल, विराटनगर, चक्रपथ काठमाडौँ, तरहरा, यलम्बर क्लब धरान, ब्रदर्श क्लब झापा, हाइराइजन बास्केटबल क्लब र धनकुटा सहित सुनसरी, मोरङ, झापाबाट १० क्लबले सहभागी हुनेछ । प्रतियोगिता धरान-१६ रङ्गशाला स्थित इन्डोर बास्केटबल कोर्टमा हुनेछ ।

प्रतियोगिता लिगकम नकआउटको आधारमा हुने पत्रकार सम्मेलनमा बताइएको छ । बास्केटबलका पूर्वाञ्चल प्रशिक्षक विकाश राई चाम्लिङका अनुसार लिगका खेलहरू  पहिलो चरणको खेलहरू लिगको आधारमा हुनेछ ।

सेमिफाइनल पुगेको टोलीबिच होम अवेको आधारमा हुनेछ । सुनसरी बाहिरको टिमले भने सेमिफाइनलमा धरानकै कुनै एक कोर्ट छान्नु पर्ने प्रशिक्षक चाम्लिङले बताए । प्रतियोगिता हेर्नका लागि दर्शकहरूले ३० रुपैयाँ सम्मका टिकट रङ्गशालाको बास्केटबल कोर्टको गेटमा लिनु पर्नेछ ।

प्रतियोगिताको विजेताले नगद ६० हजार र उपविजेताले नगद ३० हजार, ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार पाउनेछ । प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई नगद ११ हजार दिइने अध्यक्ष बास्फोरले जानकारी दिए । प्रतियोगिता पुष १४ गते सम्म सञ्चालन हुनेछ ।