धरान : चीनको हेनान प्रान्त स्थित एक नर्सरी स्कुलको शयन कक्षमा हिजो शुक्रवार राती आगलागी हुँदा १३ जना बालबालिकाको मृत्यु भएको छ । स्कुलसँग सम्बद्ध एक जनाको अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था स्थिर रहेको बताइएको छ ।
चीनको सरकार समाचार एजेन्सी सिन्ह्वाका अनुसार शुक्रवार राती हेनान प्रान्तको ग्रामीण क्षेत्रमा अवस्थित बालबालिकाको विद्यालयमा उक्त घटना भएको हो ।
चिनिया अङ्ग्रेजी दैनिक ‘चाइना डेली’का अनुसार उक्त स्कुल निजी क्षेत्रबाट सञ्चालित हो । स्कुलमा नर्सरी र प्राइमरी कक्षाका बालबालिकाको पठन पाठन हुन्थ्यो ।
प्रहरीले विद्यालयका सञ्चालकलाई पक्राउ गरेको छ । घट्नाको छानबिन सुरु गरिएको छ । आगलागीको घट्नामा मृत्यु भएकाहरूको पहिचान आधिकारिक रूपमा सार्वजनिक गरिएको छैन । साथै आगलागीको कारण पत्ता लाग्न सकेको छैन ।
सिन्ह्वा समाचार एजेन्सी अनुसार आगलागीको सूचना पाउने बित्तिकै आएको दमकलको टोलीले आगो निभाउन १ घण्टा लगाएको थियो । यसअघि गत: २६ नोभेम्बरको दिन पनि शाङसी प्रान्तको लुलियाङ शहरमा एक कार्यालयमा भएको आगलागीमा २६ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।