धरान : धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ आज भएको राष्ट्रिय सभा सदस्यको चुनावमा मतदान गर्न गएनन् ।
निर्वाचनको मतदान कार्यक्रम बिहान ९ देखी दिउँसो ३ बजे सम्म तोकिएको थियो । मतदान कार्यक्रमको समयमा उनी धरान वडा ५ मा आयोजित स्वास्थ्य सम्बन्धी कार्यक्रममा सहभागी भएका थिए ।
मेयर साम्पाङले औपचारिक रूपमा चुनाव बहिस्कार गरेका हुन कि होइनन् आज दिनभरिमा उनको फेसबुकमा कुनै स्ट्याटस देखिएको छैन । मेयर साम्पाङले आफ्नो आधिकारिक भनाई फेसबुकमा राख्ने गरेका छन् ।
मेयर साम्पाङले स्वतन्त्र उम्मेदवारका रूपमा नगर प्रमुखको चुनाव जितेका हुन । उनी जस्तै स्वतन्त्र उम्मेदवारीबाट चुनाव जितेका काठमाण्डौंका मेयर बालेन्द्र साह, धनगढीका नगर प्रमुख गोपाल हमाल पनि मतदानमा सहभागी भएनन् ।
काठमाण्डौका मेयर बालेनले भने ‘बहिस्कार’ गरेको भनी मिडियामा आएको छ । बालेनका प्रमुख स्वकीय सचिव भूपदेव शाहले भने कार्य व्यस्तताको कारणले मेयर बालेन हेटौँडा नगएको बताए । 
धरानका उपमेयर आइन्द्रविक्रमले वेघा विराटनगर स्थित मतदान केन्द्र पुगेर मतदान गरेका थिए । उपमेयर बेघा नेकपा माओवादीबाट गठबन्धनको उम्मेदवारका रूपमा चुनाव जितेका हुन ।
काठमाण्डौकी उपमेयर सुनिता डङ्गोलले हेटौँडा स्थित मतदान केन्द्र पुगेर मतदान गरेकी थिइन् । धनगढीका नगर प्रमुख हमालले मतदान नगरेको बारे कुनै प्रतिक्रिया दिएका छैनन् ।