धरान : नेपालीमा अर्बुद रोग भनिने क्यान्सर रोगबारे जनमानसमा सचेतना बढाउन धरानका साइक्लिष्टहरुले धरान देखी विराटनगर सम्म साइकल र्‍याली आयोजना गर्ने भएका छन् ।

साइकल र्‍याली विश्व क्यान्सर दिवसको अवसरमा फेब्रुअरी ४, माघ २१ आयोजना गरिने भएको हो।

सामूहिक साइकल यात्रा धरानको पब्लिक हाई स्कुल देखि सुरु भई विराटनगरको टङ्की सिनुवारी स्थित विराट क्यान्सर इन्ष्टिच्युट सम्म पुगेर पुनः धरान फर्केर समापन गरिने छ । कार्यक्रम संयोजक कुन्दन श्रेष्ठले शुक्रवार पत्रकार सम्मेलनमा उक्त जानकारी दिएका हुन । 

क्यान्सर दिवसकै दिन साइकल स्लो रेस प्रतियोगिता र साङ्गीतिक कार्यक्रम आयोजना गरिने उनले बताए । कार्यक्रममा क्यान्सर जितेकी बलिउड नायिका नेपाली चेली मनीषा कोइरालाले क्यान्सर जीतेको अनुभव सुनाउने कार्यक्रम समेत रहेको आयोजकले जनाएको छ।

कार्यक्रमका बिच क्यान्सर पीडित निम्न आय भएका ५ जनालाई सहयोग रकम हस्तान्तरण गरिने छ ।

संयोजक श्रेष्ठका अनुसार साइकल राईडका सहभागीहरूले दर्ता शुल्क २ सय बुझाउनु पर्नेछ । उक्त सङ्कलित रकम क्यान्सरको उपचार गरिरहेका ५ जनालाई वितरण गरिने छ ।

सहयोग रकम प्रदान गरिने क्यान्सर पीडितहरूमा ३५ वर्षिया कन्चन सुब्बा, १८ वर्षिया भूमिका चौधरी, १५ वर्षीय मोहम्मद दिलसाद आलम, २० वर्षिया कविता विश्वकर्मा र ४१ वर्षीय सुरज नारायण राजवंशी रहेका छन् ।

साईकिलिष्ट कृष्ण केसीले कार्यक्रमको मुख्य उद्देश्य मानिसलाई क्यान्सर रोग, उपचार क्यान्सरबाट पूर्ण रूपमा छुटकारा पाउन सकिन्छ भन्ने आत्मविश्वास बढाउन रहेको बताए ।