इटहरी : इटहरी उपमहानगरपालिकाका पूर्व मेयर द्वारिकलाल चौधरी सार्वजनिक कार्यक्रममा उपस्थित हुन थालेका छन् । प्रदेशसभा सदस्य पराजित भएपछि निष्क्रिय रहेका उनी सार्वजनिक गतिविधिमा सक्रिय हुन थालेका हुन् ।

बुधवार प्रदेश सभाका प्रतिस्पर्धी तथा सांसद रेवतिरमण भण्डारी सँग एउटै मञ्चमा देखिए चौधरी । इटहरी उपमहानगरपालिका वडा नम्बर ४ को वडा कार्यालय उद्घाटन समारोहमा दुई नेताहरू सामुन्ने भएका हुन् ।उद्घाटन कार्यक्रममा मेयर हेमकर्ण पौडेल व्यस्त भएपछि प्रदेशसभा सदस्य भण्डारीलाई निमन्त्रणा गरिएको थियो ।

यसअघि पूर्व मेयर चौधरीबाट शिलान्यास भएको कार्यालय उद्घाटनमा पनि उनी पुगेका हुन् । वडा अध्यक्ष भक्त लामाका अनुसार उद्घाटनमा आउनुपर्‍यो भनेर निमन्त्रणा गरेको चौधरीले सहर्ष स्वीकार गरेका थिए ।

औपचारिक र अनौपचारिक रूपमा भेटघाट र संवाद नगर्ने भण्डारी र चौधरीलाई वडाध्यक्षले भेटघाटको माहौल मिलाइदिएका हुन् । कार्यक्रममा भण्डारीले चौधरीको खुलेर प्रशंसा समेत गरे ।

चौधरी मेयर भएको बखतमा जस्तो विकास अहिलेको मेयरले गर्न नसकेको उनको भनाइ थियो । चौधरीले पनि एसियाली विकास बैङ्कबाट आएको योजना समेत अहिले कार्यान्वयनमा आउन नसकेको भन्दै दुःख व्यक्त गरे ।

यसअघि माओवादी केन्द्रबाट सुनसरी क्षेत्र नम्बर २(१) मा उम्मेदवार भएका चौधरीलाई भण्डारीले पराजित गरे । २०७८ मा भएको नेकपा एमाले जिल्ला अधिवेशनमा पनि चौधरी भण्डारीसँग नै पराजित भएका थिए ।

त्यसपछि २०७९ वैशाखमा भएको स्थानीय तह निर्वाचनमा इटहरी उपमहानगरपालिकाको मेयरमा चौधरीले दाबी गरे पनि टिकट पाएनन् । त्यसपछि एमाले विरुद्ध लागेका उनले पार्टी परित्याग गरे । मेयर भएकै बखतमा भण्डारी विरुद्ध अभिव्यक्ति दिँदै आएका

चौधरीको भण्डारीसँग दुरी बढ्दै गरेको थियो ।

हाल एमालेको विभिन्न कार्यक्रममा उनले उपस्थिति जनाउन थालेका छन् । एमाले कोशी प्रदेश अधिवेशन देखि एमालेका विभिन्न कार्यक्रममा चौधरी सहभागी भए । एमालेको सङ्गठित सदस्यता नवीकरण भएपछि चौधरीको सक्रियता बढेको हो ।