धरान : भारतमा चलिरहेको किसान आन्दोलनको माग पुरा गर्न सरकारलाई दबाब दिँदै संयुक्त किसान मोर्चाले आज शुक्रवार भारत बन्दको आव्हान गरेको छ । भारतीय प्रायः सबै किसान सङ्गठनहरूले समर्थनमा भारत बन्दको आव्हान गरिएको हो ।

बन्दको क्रममा नयाँ दिल्लीमा गरिने प्रदर्शनका लागि विभिन्न राज्यबाट आउने किसानहरूको र्‍यालीलाई सुरक्षाकर्मीले बाटैमा रोक्ने प्रयास गरेको छ । बिबिसीको समाचार अनुसार पन्जाबबाट प्रदर्शनमा भाग लिन दिल्ली आइरहेका किसानहरूको समूहलाई हरियाणामा सुरक्षाकर्मीले रोक्ने प्रयास गरेको छ । उनीहरूलाई रोक्न प्रहरीले अश्रुग्याँस समेत प्रहार गरेको छ ।

भारत बन्दको क्रममा भारतीय राजधानी दिल्लीमा व्यापक सुरक्षाकर्मी परिचालन गरिएको छ । दिल्ली सहित धेरै राज्यमा कडा सुरक्षा व्यवस्था गरिएको छ । दिल्ली पुलिसले प्रदर्शनकारीहरूलाई दिल्लीमा प्रवेश गर्न नदिन सुरक्षा व्यवस्था कडा गरिएको जनाएको छ । बन्दको समर्थनमा शुक्रवार बिहानै देखी राजधानी दिल्ली प्रायः सुनसान देखियो ।