धरान : धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले वीपी प्रतिष्ठान धरान नगरपालिकालाई जिम्मा लगाउनु पर्ने कुरा फेरि दोहोर्‍याएका छन् ।

कोशी प्रदेश सांसद रमेश बस्नेत, विजयकुमार राई, यशोदा कायस्थ, उपमेयर आइन्द्रबिक्रम बेघा  चिकित्सक सङ्घका केन्द्रीय उपाध्यक्ष डा. बिबेश आचार्य, पार्टीका नेताहरू सहभागी नेपाल चिकित्सक दिवसको आज आइतबार भएको कार्यक्रममा उनी प्रमुख अतिथि थिए।

सरकारले प्रतिष्ठान चलाउन नसक्ने भए धरान उपमहानगरपालिकालाई जिम्मा दिनु भनी ३ पटक पत्र पठाएको तर जवाफ नआएको भन्दै उनको मागलाई सरकारले सम्बोधन गर्नु पर्ने बताए ।

उनले भने ‘धेरै ल्याङल्याङ भयो भने एकल निर्णयले वीपीको समस्या समाधान गरिदिन्छु ।’ नगर प्रमुख साम्पाङले वीपीमा पटक-पटक उत्पन्न हुने समस्याको कारण, आर्थिक सङ्कटको बारेमा सरकार वा प्रतिष्ठानलाई कुनै सुझाव भने दिएनन् ।

उनले पटक पटक प्रतिष्ठान नगरपालिकालाई जिम्मा लाउने कुरा गर्दै आए पनि विश्वविद्यालय चलाउने नगरपालिकाको अवधारणा हो कि व्यक्तिगत विचार हो भन्ने कुरा सार्वजनिक गरिएको छैन ।

मेयर साम्पाङले कार्यपालिकामा यो विषयलाई एजेण्डा बनाएर राखेको सुनिएको छैन । यसबारे कार्यपालिकाका वडाध्यक्षहरूले पनि कुनै कुरा सार्वजनिक गरेका छैनन् ।

मेयर साम्पाङको भनाई लगत्तै कार्यक्रम विसर्जन भएकोले उनको भनाई प्रति सभाका अन्य विद्वानहरूले प्रतिक्रिया जनाउन पाएनन् ।

यसअघि उपमेयर आईन्द्रबिक्रम बेघाले प्रतिष्ठानको नेतृत्वलाई सम्बोधन गर्दै अप्रत्यक्ष रूपमा नगर प्रमुखसँगको असन्तुष्टि प्रकट गरे । उनले भने ‘नेतृत्वले मपाईँतन्त्रलाई त्यागेर जिम्मेवारी बाँडफाँड गरी संस्थागत रूपमा अघि बढ्नु पर्छ ।’

जुनसुकै घर परिवार सघसस्था र सरकार सञ्चालन गर्न सबै तह तप्का र ठाउँको जिम्मेवार व्यक्तिको भूमिकालाई जोडेर लगियो भने मात्र संस्था राम्रो हुने उनको भनाई थियो । उपमेयरले भने ‘संस्थागत कार्य सञ्चालन गर्दा संस्थाको सीमा घेरा ऐन, नियम, विधि विधान अनुरूप हुनुपर्छ ।’

जसपा नगर अध्यक्ष ताजुव लिम्बुले भने ‘वीपी प्रतिष्ठान जोगाउन दलहरूको ठुलो भूमिका रहेको छ ।’ वीपीको बेथिति र परिस्थितिसँग जुध्न नसक्नु दलहरूको कमीकमजोरी रहे पनि दलहरूको सहयोग बिना वीपीको समस्या कसैले समाधान गर्न नसक्ने ठोकुवा गरे ।

इलाका प्रहरी धरान डिएसपी नवराज मल्लले चिकित्सकहरू सामाजिक दायरामा बसेर जनतालाई सेवामा दिनुपर्ने कर्तव्य र अधिकार भएको बताए । छिटो कम खर्चिलो र गुणस्तरीय सेवा जनताको चाहना भएकोले त्यसलाई पुरा गर्ने चिकित्सकहरूको प्रमुख जिम्मेवारी भएको मल्लको भनाई थियो ।

नेपाल चिकित्सक सङ्घ धरान शाखाको ७४ औ वार्षिकोत्सव तथा नेपाल चिकित्सक दिवसमा भएको कार्यक्रममा सङ्घका केन्द्रीय उपाध्यक्ष कोशी प्रदेश संयोजक डा.बिबेश आचार्य, सङ्घका निवर्तमान अध्यक्ष डा.राजु रिजालले शुभकामना दिएका थिए ।

chikitsak-sang-programNDA-program