धरान : अस्ट्रियामा बसोबास गर्दै आएका नेपाली युवा खेलाडी विनय कार्कीले अस्ट्रियाको तर्फबाट अन्तर्राष्ट्रिय स्तर खेलकुदमा सहभागी भई पदक जितेर नेपाल र नेपालीको प्रतिष्ठा उच्च बनाउँदै आएका छन् ।

कार्की एनआरएनएको प्रतिनिधित्व गर्दै विभिन्न मुलुकमा आयोजित प्रतियोगितामा सहभागी भई उत्कृष्ट फाइटरको ट्रफी स्वर्ण सहित पदकहरू जित्न सफल भएका छन् ।

उनले मार्सल आर्ट्सको तेक्वान्दो खेलमार्फत दर्जनौँ अन्तर्राष्ट्रिय पदक प्राप्त गरेका छन् । चार महादेशको ३४ देशमा अस्ट्रियाका तर्फबाट सहभागी भई पदक प्राप्त गरेका छन् ।

उनले वर्ल्ड च्याम्पियन सिप, युरोपियन च्याम्पियनसिप, नेशनल च्याम्पियनसिप जी-वान र टु इन्टरनेशनल समेत १२९ वटा प्रतियोगितामा प्रतिस्पर्धा गरी ७४ वटा स्वर्ण, २५ वटा कास्य, १५ वटा रजत पदक प्राप्त गरेका छन् ।

नेपाली युरोपियन खेलकुद सङ्घका सल्लाहकार समेत रहेका विनय कार्की उनको यो सफलता बुवा विकास कार्कीको प्रेरणाले खेल क्षेत्रमा लागेकोले प्राप्त भएको बताउँछन् ।

विनय सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय छन् । नेपाल आउँदा गरिब तथा असहायलाई सहयोग गर्दछन् । उनको सफलताले नेपाली समाज अस्ट्रियालाई विश्वभर चिनाउन सघाएको छ ।

अस्ट्रियामा पर्यटन व्यवसाय गर्दै आएका नेपाली युरोपियन खेलकुद सङ्घका अध्यक्ष दिलकुमार घमालले विनयले विदेशमा बसोबास गर्ने नेपालीहरूका लागि प्रतिष्ठा बढाएको बताए ।