धरान : महिलाको समान अधिकार अरूले दिलाई दिने कुरा होइन, अधिकार प्राप्तिका लागि महिलाहरू नै अघि बढ्नु पर्छ भन्ने सन्देश दिदैं शुक्रवार धरानमा ११४ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइएको छ ।

धरान उपमहानगरपालिकाको आयोजना एवम् महिला सञ्जाल धरानको संयोजनमा भएको महिला दिवस अन्तर वडा वक्तृत्वकला प्रतियोगिता आयोजना गरी मनाइएको हो ।

सोही अवसरमा महिला सञ्जालकी पूर्व अध्यक्ष शिला बज्राचार्यले महिला सञ्जालको निर्माणाधीन भवनको लागि १ लाख रुपैयाँको चेक सञ्जालकी अध्यक्ष सपना राईलाई हस्तान्तरण गरिन् ।

धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङ प्रमुख अतिथि रहेको समारोहमा उनको हातबाट महिला सञ्जालकी पूर्व अध्यक्षद्वय मिना पुलामी र शिला बज्राचार्यलाई ‘साथी अवार्ड’ द्वारा सम्मानित गरियो ।

वक्तृत्वकलामा धरान-६ की अनुसा शर्मा प्रथम

mahila-diwas-4धरान उपमहानगरका सबै वडाबाट १/१ महिला सहभागी हुने गरी आयोजित वक्तृत्वकला प्रतियोगितामा धरान-६ की अनुसा शर्मा प्रथम भइन् । उनलाई उपमेयर अइन्द्रबिक्रम बेघाले १० हजार रुपैयाँ पुरस्कार सहित प्रमाणपत्र प्रदान गरे ।

प्रतियोगितामा दोस्रो स्थान वडा १४ की विभूति कटुवाल, तेस्रो स्थान वडा १६ की अनुस्का राई,र सान्त्वना पुरस्कार वडा १७ की सबिना पुरीले प्राप्त गरिन् । उनीहरूले नगद पुरस्कार ८ हजार, ५ हजार र ३ हजार रुपैयाँ, प्रमाणपत्र प्राप्त गरे ।

धरानका २० वट वडा मध्ये १४ वटा वडा सहभागी भएको प्रतियोगीताका वक्ताहरूले ‘वर्तमान अवस्थामा महिलाको अवस्था तथा चुनौती र समाधानका उपाय’ विषयमा आफ्ना भनाई राखेका थिए ।

उद्घाटन समारोहमा मेयर साम्पाङले राजनीतिक क्षेत्रमा महिला पछाडि परेको बताउँदै उनीहरू उपमेयर मात्र किन, मेयर बन्ने प्रतिस्पर्धामा अघि बढ्नु पर्ने बताए ।

उपमेयर अइन्द्रबिक्रम बेघाले श्रमिक महिला दिवसमा विश्वमा महिलाहरूले गरेको आन्दोलनको चर्चा मात्र गर्न नहुने बताउँदै नेपालमा महिलाले प्राप्त गरेको अधिकार नेपालमै भएको आन्दोलन सङ्घर्ष जनयुद्ध सम्मको योगदान उल्लेखनीय रहेको बताए ।

सम्मानित शिला बज्राचार्यले धरानमा महिला सञ्जालले महिला र पुरुष कामदारको ज्यालामा भएको समानताको लागि भूमिका खेलेको चर्चा गरिन् ।

सभापति सपना राईले भनिन् ‘महिला अधिकार प्राप्तिका लागि अबका दिनमा महिलाहरू नै सङ्गठित भएर अघि बढ्नु पर्छ ।’ उनले महिलाको अधिकार अरू कसैले होइन महिलाकै सङ्घर्षबाट मात्र प्राप्त हुने बताइन ।

सभामा सम्मानित अग्रज महिला नेतृ मिना पुलामी, इलाका प्रहरीका डिएसपी नवराज मल्ल, उपमहानगरपालिकाकी प्रशासकीय अधिकृत प्रज्ञादेवी निरौला, बिपी प्रतिष्ठानका डा.विकास यादवले आफ्ना धारणा राखेका थिए ।

सञ्जालकी सचिव निर्मला शाक्यले स्वागत भाषण गरेको कार्यक्रम सञ्चालन इन्द्रकला राईले गरेकी थिइन् । वक्ताकला प्रतियोगिताको निर्णायक मण्डलमा डा.सुभाषचन्द्र न्यौपाने, डा.अस्मिता विष्ट, वरिष्ठ पत्रकार हर्ष सुब्बा थिए ।

mahila-diwasmahila-diwas-3