वराहक्षेत्र : वराहक्षेत्र नगरपालिकाले आइतबार चतरा बजारमा अनुगमन गरेको छ । उपभोक्ताहरूको अधिकार सुनिश्चितताको लागि र बाह्र वर्षे पूर्ण महाकुम्भ मेलालाई केन्द्रित गरेर बजार अनुगमन गर्ने योजना अनुसार नगरपालिकाको अनुगमन टोलीले चतरा बजारका पसलहरू अनुगमन गरेको नगरपालिकाका आर्थिक विकास शाखाका प्रमुख मातृका तिवारीले बताए ।

अनुगमनको क्रममा बजारमा रहेको पसलहरूबाट म्याद नाघेका खाद्य सामाग्री, बढी मात्रामा चिसो पदार्थहरू, बिस्कुट फेला पारेर नष्ट गरिएको आर्थिक विकास शाखाका प्रमुख तिवारीले बताए । म्याद नाघेको सामाग्री फेला परेको पसल, दर्ता प्रक्रिया नगरी सञ्चालन भएका पसल र होटेलहरूलाई ५ हजारसम्म जरिमाना समेत गरिएको थियो ।

बजारबाट उपभोक्ताहरूले पाउनु पर्ने गुणस्तरीय बस्तु, मूल्यको एकरूपता, कानुनी प्रमाणहरू लगायतका विषयमा अनुगमन टोलीलाई सक्रिय बनाइएको अनुगमन गरिएको अनुगमन समितिकी संयोजक नगर उप-प्रमुख नन्दकुमारी सुनुवारले बताइन् ।

उपभोक्ताको हित विपरीत सञ्चालन भएका पसलहरूलाई नियमको पालना, म्याद नाघेका सामाग्री राख्ने व्यापारीहरूलाई जरिवाना, ४० माइक्रोन भन्दा कम प्लास्टिकका झोलाको अनुगमन गरिएको प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र बहादुर मल्लले बताए ।

नगर उपप्रमुख नन्दकुमारी सुनुवार नेतृत्वको अनुगमन टोलीमा प्रमुख प्रशासकीय अधिकृत देवेन्द्रबहादुर मल्ल, आर्थिक विकास शाखाका प्रमुख मातृका तिवारी, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, सुनसरीका प्रमुख सङ्गम दाहाल, उद्योग वाणिज्य सङ्घ चतराका अध्यक्ष कृष्ण कट्टेल, नेपाल प्रहरी, पत्रकार लगायतको सहभागिता रहेको थियो ।