सुनसरी : न्युरोड टिम एनआरटीलाई पराजित गर्दै चर्च ब्वाइज युनाइटेड १४ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ ।

इटहरी रङ्गशालामा मंगलबार राती सम्पन्न अन्तिम क्वाटर फाइनल खेलमा झापा गोल्डकप च्याम्पियन चर्च ब्वाइजले बुढासुब्बा गोल्डकप विजेता एनआरटीमाथी २-१ गोलको जीत हात पार्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।

चर्च ब्वाइजको जीतमा अबायोमी फकुन्ले र सुरजज्यु ठकुरीले गोल गरे । एनआरटीका अफिज ओलावालेले एक गोल फर्काए ।

खेलको ३७ औँ मिनेटमा अबायोमीले गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा १–० को अग्रता लिएको चर्च ब्वाइजमाथी एनआरटीका ओलावालेले खेलको ८२ औँ मिनेटमा गोल फर्काए । त्यसको एक मिनेट बित्न नपाउँदै चर्च ब्वाईजका ठकुरीले गोल गर्दै आफ्नो टिमलाई २–१ को जीत दिलाए ।

मङ्गलवारको खेलको म्यान अफ द म्याच चर्च ब्वाइजका सुरजज्यु ठकुरी घोषित भए । उनलाई इटहरी उपमहानगरपालिकाका प्रेस संयोजक धनबहादुर पुरी र इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले नगद १० हजार र ट्रफी प्रदान गरे ।

बुधवार पहिलो सेमिफाइनल खेलमा विभागीय टिम त्रिभुवन आर्मी र साबिक विजेता सगरमाथा फुटबल क्लब मोरङबिच प्रतिस्पर्धा हुनेछ । फाइनल खेल शनिवार हुनेछ । 

फाइनल खेलको विजेताले नगद १० लाख रुपैयाँ हात पार्नेछ । उपबिजेताले ५ लाख रुपैयाँमा चित्त बुझाउनुपर्नेछ ।

Vivo-Man-of-the-match