धरान : माध्यमिक शिक्षामा विद्यार्थीका लागि नयाँ मोडको रूपमा आउने एसइई परीक्षा धरानमा २ हजार ९६४ जनाले दिइरहेका छन् । 

आजबाट सुरु भएको परीक्षामा सामुदायिक र संस्थागत विद्यालयका कति कति विद्यार्थी परीक्षामा सामेल छ भन्ने यकिन तथ्याङ्क भने धरान उपमहानगरपालिका शिक्षा महाशाखासँग छैन ।

चैत्र १५ देखि २७ गते सम्म एसइई नेपाल भर एकसाथ सञ्चालन भएको हो । एसइई परीक्षाका लागि धरान उपमहानगरपालिका भित्र रहेका सामुदायिक तथा संस्थागत विद्यालय गरी जम्मा २९६४ परीक्षार्थीहरू सामेल छन  ।

त्यस मध्ये नियमित तर्फ २९१५ जना छन् । ग्रेड वृत्ति तर्फ ४९ जना परीक्षार्थी सामेल छन् । धरानका एसइई परिक्षार्थीहरुका लागि १० वटा परीक्षा केन्द्रमा तोकिएको धरान उपमहानगरपालिका नगर शिक्षा अधिकारी गणेश प्रसाद खतिवडाले बताए ।

धरान उपमहानगरपालिकाको तथ्याङ्क अनुसार एसइई परीक्षामा सहभागी सामुदायिक विद्यालय १८, धार्मिक विद्यालय १ र विशेष विद्यालय १ वटा गरी जम्मा २० वटा विद्यालय छन् । संस्थागत ५९ वटा विद्यालय छन् ।

सामुदायिक विद्यालयबाट कति र संस्थागत विद्यालयबाट कति विद्यार्थीहरूले एसइई दिई रहेका छन् भन्ने यकिन तथ्याङ्क भने शिक्षा महाशाखामा नभएको प्रमुख खतिवडाले बताए ।

उनले भने ‘केन्द्रबाट तथ्याङ्क नपठाई शिक्षा शाखामा यकिन तथ्याङ्क हुँदैन ।’ उनका अनुसार एसइई परीक्षामा कति छात्रा र छात्र छन् भनेर यकिन तथ्याङ्क पनि शिक्षा युवा तथा खेलकुद महाशाखालाई जानकारी छैन ।

विगतका एसइई परीक्षामा सैद्धान्तिक र प्रयोगात्मक दुवै जोडेर ३५ प्रतिशत अङ्क ल्याउनुपर्ने प्रावधान थियो । यस वर्षदेखि विद्यार्थीले सैद्धान्तिकमा ३५ र प्रयोगात्मकमा ४० प्रतिशत अङ्क ल्याउने पर्ने व्यवस्था रहेको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

public-school--see