धरान : तत्कालीन विष्णुपादुका हाल धरान-२० अस्पताल सम्म पहुँच नभएका २३ जना वृद्ध वृद्धाको मोतिया विन्दुको रोटरी क्लब अफ धरानले निःशुल्क शल्यक्रिया गरिदिएको छ ।

क्लबद्वारा आयोजित आँखा शिविरमा त्यहाँ ३२४ जनाको आँखा जाँच गरिएको थियो । जाँच गरिएको मध्ये २३८ जनालाई क्लबले निःशुल्क चस्मा वितरण गरेको थियो । २५ जनामा मोतिया बिन्दु देखिएकोले उनीहरूको शल्यक्रिया गरिएको रोटरीकी सचिव दिव्या श्रेष्ठले बताइन् ।

शल्यक्रियाका लागि सिफारिस भएका २५ जना मध्ये सम्पर्कमा आएका २३ जनाको शल्यक्रियापछि आज बुधवार आँखाको पट्टी खोलिएको उनले जानकारी दिइन् ।

सबै शल्यक्रिया धरान-१२ स्थित सूर्य आई केयर सेन्टरका डा. इच्छा जोशीले गरेकी हुन् । टोकूँ प्रविधिबाट गरिने मोतिया बिन्दु शल्यक्रिया शुल्क १२ हजार रुपैयाँ लाग्ने भएपनि सूर्य लाइफ आई केयर सेन्टरले रोटरी क्लब धरानको आग्रहमा प्रतिव्यक्ति ३५ सयमा शल्यक्रिया गरिदिएको सचिव दिव्य श्रेष्ठले जानकारी दिइन् । 

शल्यक्रियाका न्यूनतम शुल्क रोटरी क्लब अस्ट्रेलियाबाट सहयोग स्वरूप उपलब्ध भएको हो ।

विष्णुपादुकामा गत चैत्र १० गते धरान २० मा आँखा शिविर सञ्चालन भएको थियो । शिविर रोटरी क्लब अफ धुलिखेल, धरान उपमहानगरपालिका वडा २० अस्ट्रेलियाबाट आएका रोटरीका सदस्यहरूको सहकार्यमा भएको थियो ।

शिविरमा अस्ट्रेलियाका आँखाका डाक्टरहरूले नेपालमा श्रम स्वीकृत लिई आँखा जाँच शिविर सञ्चालन गरेका थिए ।