धरान : थाइल्याण्डको सिमाना जोएिको म्यानमारको एक सहर म्यावड्डी म्यानमारको कैरेन विद्रोही समूहले कब्जामा लिएको छ । 

त्यहाँ सुरक्षाका लागि तैनाथ सैकडौं म्यानमारका सैनिकहरूले आत्मसमर्पण गर्न तयार भएपछि सहर विद्रोहीहरूको कब्जामा गएको हो ।

म्यावड्डीमा हप्तौँ देखी म्यानमारको सैनिक कैरेन विद्रोही र अन्य समूह बिच सङ्घर्ष जारी थियो ।

यसै बिच शुक्रवार कैरन नेशनल युनियनले म्यावड्डीबाट १० किलोमिटर पश्चिम स्थित थङगान्थिनाङग सहरमा रहेको सेनाको एक बटालियनले आत्मसमर्पण गरेको घोषणा गरेको बीसीसीले जनाएको छ ।

यस घट्नालाई ३ वर्ष अघि म्यानमारको सत्ता कब्जा गर्ने सैनिक शासनको ठुलो हारको सामना गर्नु परेको रूपमा लिइएको छ ।

म्यानमारको सेनाले आत्मसमर्पण गरेपछि विद्रोही सङ्गठनले सामाजिक सञ्जालमा पोष्ट गरेको एक भिडियो अहिले भाइरल भएको छ ।

भिडियोमा उत्साहित लडाकुहरूले आफ्नो कब्जामा लिएको म्यानमारका सैनिकको हतियारको ठुलो भण्डार देखाइरहेको देखिन्छ ।

आत्मसमर्पण पछि कैरेन विद्रोही म्यावड्डी सहरको भित्री भागमा तैनाथ एक मात्र म्यानमार सैनिक बटालियनलाई आत्मसमर्पण गर्ने वार्तामा जुटे थिए । वार्ता लगत्तै शहरका सेनाको अन्तिम टुकडी आत्मसमर्पण गर्न तयार भएको बीवीसीको समाचारमा उल्लेख छ ।

यो घटना म्यानमारको सैनिक शासनका लागि गम्भीर झट्का हो । पछिल्लो केही महिना देखी चीनको सिमाना नजिक शान राज्य र बङ्गलादेशको सिमाना नजिक रखाइन राज्यको सिमाक्षेत्रबाट पनि विद्रोहीहरूले म्यानमार सेनालाई भाग्न बाध्य बनाएका थिए ।